| मङ्लबार, कार्तिक २४, २०८३

जोखिम स्थानको नक्शाङ्कन गर्ने, उद्धार र राहत सामग्री तयारी अवस्थामा राख्ने

जिल्लामा हुनेसक्ने विपद व्यवस्थापनका लागि पूर्व तयारी थालिएको छ । मंगलवार जिल्ला विपद व्यवस्थापन समितिको बैठक बसेर बिभिन्न निर्णयहरु गरिएको छ । मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना अद्यावधिकका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन हुने भएको छ ।

जिल्लाका सुरक्षा निकायका प्रमुखहरु सदस्य रहने गरी समिति गठन गर्ने निर्णय बैठकले गरेको हो । जिल्ला विपद सहायता कक्ष संचालनका लागि पनि समिति गठन हुने भएको छ । प्रजिअ संयोजक रहेको समिति गठन गर्ने र प्रत्येक स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा स्थानीय विपद सहायता कक्ष स्थापना गर्ने निर्णय बैठकमा भएको छ ।

मनसुनजन्य विपदको जोखिममा रहेका जिल्लाका स्थानको नक्साङ्कन गरिने भएको छ । जोखिमयुक्त स्थानहरुको पहिचान गरी अद्यावधिक गर्न स्थानीय तहहरुलाई भनिएको प्रजिअ भोला दाहालले बताए । ‘स्थानीय विपद व्यवस्थापन कोषमा रहेको बजेटबारे प्रशासनलाई जानकारी गराउन पनि भनेका छौ,’ उनले भने, ‘प्रत्येक स्थानीय तहले विपद सम्पर्क व्यक्ति तोक्ने भनेर पनि निर्णय गरेका छौ ।’

विपदको समयमा आवश्यक पर्ने उद्दार र राहतका सामग्रीको विवरण तीन दिनभित्र प्रशासन कार्यालयलाई बुझाउन स्थानीय तहहरुलाई आग्रह गरिएको छ । विपदको समयमा तत्काल प्रयोग गर्न मिल्ने गरी सामग्रीहरु तयारी अवस्थामा राख्न पनि भनिएको बताइएको छ । बैठकको निर्णय अनुसार विपदको समयमा प्राथमिक उपचारका लागि प्रत्येक स्थानीय तहले आवश्यक जनशक्ति तयार गर्नुपर्ने छ ।

विपदका कारण क्षति हुन सक्ने सडकको मर्मत संम्भार र संचालनको जिम्मा सम्बन्धित निर्माण व्यवसायीलाई दिइएको छ । विपदको समयमा खाद्यान्न अभाव हुन नदिन आवश्यक व्यवस्था मिलाउन गोरखा उद्योग वाणिज्य संघलाई जिम्मेवारी दिइएको छ । विपदको समयमा तत्काल प्रयोग गर्न मिल्ने आपतकालिन आश्रय स्थल र खुल्ला क्षेत्रको विवरण संकलन गर्न भनिएको प्रजिअ दाहालले बताए । दाहालको अध्यक्षतामा बसेको बैठकमा विपद व्यवस्थापनको क्षेत्रमा क्रियाशिल सरकारी तथा गैरसरकारी निकायहरुको पनि सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्