
धार्चेको अधिकांश पसलमा म्याद गुज्रिएका खाद्य सामग्री
धार्चे गाउँपालिकाको बिभिन्न वडामा संचालित पसलहरुमा म्याद गुज्रिएको खाद्य सामग्री फेला परेको छ । पालिकाको उपभोक्ता हित संरक्षण तथा बजार अनुगमन समितिले आइतवार बजार अनुगमन गर्दा अधिकांश पसलमा म्याद गुज्रिएको खाद्य सामग्री भेटेको हो ।
गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङको नेतृत्वको टिमले बजार अनुगमन गरेको थियो । गाउँका ब्यापारीलाई थोक बिक्रेताले नै जानाजान म्याद गुज्रिएको सामान दिएर पठाउने गरेको उपाध्यक्ष गुरुङको भनाइ छ । ‘हाम्रो गाउँका मान्छेहरु म्याद हेरेर खाद्यान्न किन्ने चलन छैन’, उनले भनिन्, ‘सिधासादा देखेर डिलरले नै म्याद गुज्रेका सामग्री पठाउने गरेको पाइयो ।’ बजार अनुगमनका क्रममा अखाद्य बस्तुहरु समेत फेला परेको उनले बताइन् ।
म्याद नाघेका खाद्य सामग्रीहरुलाई नष्ट समेत गरिएको उनले जानकारी दिइन् । ‘बिक्रेताहरुलाई सबै सामग्री फिर्ता गर्न भनेका छौँ, उनीहरु र उपभोक्ता दुवैलाई म्याद हेरेर मात्र सामग्री खरिद गर्न सुझाव समेत दिएका छौँ,’ उनले भनिन् ।




