
विविध कार्यक्रम गरी मनाइयो गणतन्त्र दिवस
१७ औँ गणतन्त्र दिवस जिल्लामा विविध कार्यक्रम गरी मनाइएको छ । मंगलवार प्रभातफेरीसँगै बिभिन्न गतिविधीहरु संचालन भएका छन् । जिल्ला प्रशासनबाट सुरु भएको प्रभातफेरी हरमटारी, बिसौनी, बसपार्क, ठुलोआँगन, तिनधारे, हुदैँ जिल्ला समन्वय समितिको सभाहलमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।
जिल्ला समन्वय समिति प्रमुख मोहनबहादुर थापाको अध्यक्षता तथा गोरखा नगरपालिका मेयर कृष्ण रानाको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भोला दाहाल, जिसस उपप्रमुख लिला परियार, पत्रकार महासंघ गोरखाका कार्यवाहक अध्यक्ष नरेन्द्र ढकाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
दिवसकै अवसरमा जनप्रतिनिधी र निजामती कर्मचारबीच मैत्रीपूर्ण फुटवल खेल समेत भएको छ । साँझ ठुलोआँगन परिसरमा दिप प्रज्वलन समेत भएको बताइएको छ । दिवसको सन्दर्भमा विविध कार्यक्रम गरी दिवस मनाउने समितिले निर्णय गरेको थियो । सोही अनुरुप कार्यक्रमहरु भएको बताइएको छ ।




