
चोरीपछि भेष बदलेर भग्दै गर्दा पक्राउ
चोरी गरी भेष बदलेर भाग्दै गरेको अवस्थामा गोरखा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मंगलबार बिहान ३ बजे गोरखा नगरपालिका–६ कालिमाटी स्थित प्रविन मोबाईल पसलमा चोरी गरेर भाग्दै गरेको अबस्थामा एकजनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
सिन्धुली घर बताउने २० बर्षका कुमार मोक्तानलाई चोरीको सामानसहित प्रहरीले पक्राउ गरेको हो । उनले चोरी गरेपछि भेष बदलेर भागेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक उज्जवल बहादुर सिंहले बताए । ‘उनले चोरीको बेला अर्को कपडा लगाएका रहेछन्, त्यसपछि कपडा फेरेर भागेका रहिछन्,’ सिँहले भने, ‘हाम्रो प्रहरी टोलीले पक्राउ पर्दा पनि चेन्ज गरिएको कपडामा भेटियो, सिसि टिभि फुटेज चेक गर्दा भने चोरी गर्न जादाँ छुटै कपडा लगाएको देखियो ।’
चोरी गरेर भाग्दै गरेको शंकास्पद अवस्थामा मोक्तानलाई गोरखा नगरपालिका–८ को चाईनिज धारा क्षेत्रमा डिउटीमा खटिएका प्रहरी हवल्दार सन्तोष परियार र प्रहरी सहायक हवल्दार मधुसुदन बिष्टले फेला परेका थिए । शंकास्पद देखिएपछि सोधपुछ गरी शरीर खानतलासी गर्ने क्रममा उनको साथबाट १२ थान मोबाईल, १ थान पावर ब्याङ्क, २ थान स्पिकर, ८ वटा नमस्ते मोबाइलको नयाँ सिमकार्ड, १२ वटा एनसेलको नयाँ सिमकार्ड, ३ थान मोबाईलको स्क्रिन ग्लास, नगद २०५ रुपैयाँ र १ थान सानो झोला बरामद गरिएको उनले बताए ।
पसलको सटरमा लगाएको ताल्चा फोडेर चोरी गरेको उनले स्विकार गरेका छन् । घटना स्थलबाट चोरीमा प्रयोग गरिएको ह्यामर र रडको टुक्रा पनि फेला पारेको इन्सपेक्टर सिंहले बताए । घटनाबारे थप अनुसन्धान भईरहेको गोरखा प्रहरीले जनाएको छ ।




