| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाको साम्दोमा बिओपी स्थापना


उत्तरी गोरखाको साम्दोमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट(बिओपी) स्थापना भएको छ । एकबर्ष लामो तयारीपछि आइतबार बिओपी स्थापना भएको हो ।


तिब्बतसंगको रुईला नाका नजिकै पर्ने चुमनुब्री गाउँपालिका १ साम्दोमा बिओपी स्थापना भएको डिएसपी सुमन बोगटीले जानकारी दिए । इन्स्पेक्टरको कमाण्डमा टोलीले काम सुरु गरिसकेको उनले बताए ।


बिओपीमा खटिएका टोलीले सीमा सुरक्षा गर्नेलगायतका काम गर्नेछन् । ‘सीमा सुरक्षाको प्रमुख जिम्मेवारी छ’, डिएसपी बोगटी भन्छन्, ‘सीमानामा हुने अवाञ्छित गतिबिधि, अवैध कारोबार नियन्त्रण गर्ने, शान्ति सुरक्षा स्थापना गर्ने, बिपद् व्यवस्थापन गर्ने कामहरु मुख्यमुख्य कामहरु हुन् ।’

चुमनुब्री १ साम्दोमा स्थापना भएको बिओपीमा खटिएका सशस्त्र प्रहरी ।
तस्वीर :सशस्त्र प्रहरी, गोरखा ।


चुमनुब्री गाउँपालिकाको वडा नं. १ रुइला नाका आसपास र वडा नं. ७ को मुलाढाज्यान नाका आसपास दुई ठाउँमा बोर्डर आउटपोस्ट राख्ने सरकारले बिगत एकबर्षदेखि तयारी गरेको थियो । रुइला नाका आसपास स्थापना भए पनि मुलाढाज्यान आसपास भने बिओपी स्थापना हुन अझै बाँकी नै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्