| मङ्लबार, कार्तिक २४, २०८३

विविध कार्यक्रम गरी तीन दिनसम्म गणतन्त्र दिवस मनाइने

विविध कार्यक्रम गरी जिल्लामा गणतन्त्र दिवस मनाइने भएको छ । वुधवार बसेको जिल्ला स्तरिय समिति बैठकले दिवसको अवसरमा तीन दिन विविध कार्यक्रम गर्ने निर्णय गरेको छ । जेठ १४ गते सबै कार्यालयहरुले कार्यालय परिसरमा सरसफाइ गर्ने निर्णय भएको छ । जेठ १५ गते शुभकामना आदानप्रदान, रक्तदान, वृक्षारोपण लगायतका कार्यक्रम संचालन हुने समिति संयोजक एवं जिल्ला समन्वय समिति प्रमुख मोहनबहादुर थापाले बताए ।

‘१४ गते बिहान झण्डोत्तोलनसहित शुभकामना आदानप्रदान कार्यक्रम हुन्छ,’ उनले भने, ‘विभिन्न संघसंस्थाको समन्वयमा रक्तदान र स्वास्थ्य सचेतना कार्यक्रम पनि संचालन हुन्छन् ।’ फरक क्षमता भएका बिद्यार्थीलाई शैक्षिक तथा खेलकुदका सामग्री वितरण समेत गरिने उनले जानकारी दिए । लोकतन्त्र र गणतन्त्र प्राप्तिको आन्दोलनमा शहीद तथा वेपत्ता व्यक्तिका परिवार र घाइतेहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको बताइएको छ ।

दिवस अवधिभर जिल्लामा रहेका सार्वजनिक महत्वका स्थान तथा ऐतिहासिक तथा पुरातात्विक सम्पदा स्थलहरुको सरसफाइ गर्ने र साँझ दिप प्रज्वलन गर्ने निर्णय बैकठले गरेको छ । ‘तीन दिनसम्म दिप प्रज्वलन गर्ने कार्यक्रम छ, जेठ १४ गते ठुलोआँगन, १५ गते रानीपोखरी र १६ गते जिल्ला प्रशासन कार्यालयको प्राङ्गण अगाडी रहेको भूकम्प स्मृति चौतारा परिसरमा दिप प्रज्वलन हुने छ,’ उनले भने । घरघरमा दिप प्रज्वलन गरेर साथ दिन समितिले जिल्लावासीलाई आग्रह समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्