
मगर संघको राष्ट्रिय सम्मेलनको उद्घाटन प्रधानमन्त्रीले गर्ने
गोरखामा हुन लागेको नेपाल मगर संघ केन्द्रिय समितिको २८ औ राष्ट्रिय सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने भएका छन् । यही जेठ १२ गते हुने उद्घाटन कार्यक्रममा सहभागी हुन उनी सोही दिन दिउँसो एक बजे गोरखा आउने कार्यक्रम तय भएको बिहीवार पत्रकार सम्मेलन मार्फत संघले जानकारी गराएको छ ।
उनीसँगै उपप्रधान तथा परराष्ट्रमन्त्री नारायण काजी श्रेष्ठ र प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना मगर पनि कार्यक्रममा सहभागी हुने बताइएको छ । गोरखा संग्रहालय परिसरमा हुने सम्मेलनको करिव ९० प्रतिशत तयारी पुरा भईसकेको संयोजक विष्णु राना मगरले बताए । सम्मेलनमा सहभागी हुनेहरुका लागी खानपान र बसोबासको समेत व्यवस्था भइसकेको उनले जानकारी दिए ।
‘सम्मेलनमा सातै सातै प्रदेश, ७७ वटै जिल्ला, ८ वटा भातृ संगठन र १५ भन्दाबढी बैदेशिक शाखाहरुबाट करिब सात सय जना प्रतिनिधिहरु आउनुहुन्छ,’ उनले भने, ‘जिल्लाका होटलहरुसँग समन्वय गरेर उहाँहरुको खानपान र बसोवासको व्यवस्था मिलाइसकेका छौ ।’ कार्यक्रम स्थलमा मञ्च निर्माणको काम लगभग सम्पन्न भइसकेको छ । गोरखा प्रवेश गर्ने मझुवास्थित गेटमा स्वागतका लागी प्रवेशद्धार समेत बनाइएको छ ।
सम्मेलनका सहभागीलाई मध्यनजर गर्दै विपिचोक नजिकै रहेको ट्याक्सी पार्क स्थलमा मोवाइल शौचालय राखिने रानाले बताए । उनका अनुसार ठाउँठाउँमा खानेपानी र हेल्थ डेक्सको व्यवस्था गरिने छ । हरमटारी खेलमैदानमा पार्किङको व्यवस्था मिलाइएको छ । दुई दिनसम्म चल्ने सम्मेलनको पहिलो दिन झाँकी ¥याली हुने छ । हरमटारी खेलमैदानबाट शुरु हुने ¥याली बिसौनी, बसपार्क, पदेली ठुलोआँगन हुदैँ गोरखा संग्रहालय परिसरको कार्यक्रम स्थलमा पुग्ने छ । साँझ सांस्कृतिक कार्यक्रमहरु हुने बताइएको छ ।
दोस्रो दिन बिहान सहभागीहरुलाई जिल्लाको पर्यटकीय स्थलहरु घुमाउने कार्यक्रम तय गरिएको छ । बुंकोटको काहुलेभंगार, गोरखा दरवार, भीमसेन पार्क, लिगलिगकोट लगायतका स्थलहरु घुमाउने योजना रहेको रानाले बताए । पर्यटकीय स्थलको अवलोकन पश्चात बन्द सत्र सुरु हुने उनले जानकारी दिए ।
बन्दसत्रमा देशको सांस्कृतिक नीति, मगरात क्षेत्र बिस्तार, प्रथम सहिद लखन थापालाई राष्ट्रिय विभूति घोषणाको माग लगायतका बिषयमा छलफल हुने बताइएको छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा मगर भाषालाई सरकारी कामकाजको भाषाको रुपमा लागू गर्ने बिषयलाई पनि बन्दसत्रमा छलफल गरिने संघको तयारी छ ।
‘देश अस्थिरता तर्फ धकेलिँदै गएको छ’, मगर संघ केन्द्रिय समिति अध्यक्ष ज्ञानेन्द्र पुनमगरले भने, ‘यस विषयमा देशको तेस्रो ठुलो बाहुल्यता बोकेको मगर समुदायको धारणा के हो त भन्ने बिषयमा पनि गम्भीर छलफल गर्छाै ।’ सम्मेलनले मगर समुदायको मात्र नभई सिङ्गो देशको मौलिकता संरक्षणको विषयलाई उजागर गर्ने उनले बताए ।




