
दश स्थानीय तहमा एमालेको कमिटी गठन
जिल्लाको दश वटा स्थानीय तहमा नेकपा एमालेको कमिटी गठन भएको छ । उत्तरी गोरखाको चुमनुब्री बाहेक सबै पालिकामा कमिटि गठन भएको पार्टी जिल्ला सचिव काजीराम रोकाले बताए । उनका अनुसार धार्चे गाउँपालिकाको कमिटी अध्यक्षमा सुकबहादुर घले चयन भएका छन् । गत चैत्र २९ गते भएको अधिवेशनले उनको अध्यक्षमा कमिटी गठन गरेको हो ।
भिमसेनथापा गाउँपालिका कमिटी अध्यक्षमा सुजन सिंखडा निर्वाचित भएका छन् । उक्त पालिकामा गत बैशाख १६ गते अधिवेशन भएको थियो । अजिरकोट गाउँपालिकामा बालकृष्ण दवाडी, आरुघाटमा कृष्णबहादुर धमला र शहिद लखनको अध्यक्षमा काजीराम श्रेष्ठ निर्वाचित भएका छन् ।
गोरखा नगरपालिकाको नगर कमिटी अध्यक्षमा भने देवी बस्नेत चयन भएका छन् । यसअघि गोरखा नगरपालिका वडा नम्वर १० का अध्यक्ष समेत रहेका उनी गत बैशाख २५ गते भएको पार्टीको अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका हुन् । पालुङटार नगरपालिकाको नगर कमिटी अध्यक्षमा भने बसन्तकुमार श्रेष्ठ चयन भएका छन् ।
यता बारपाक सुलिकोटमा दलबहादुर भट्ट, सिरानचोकमा बिराज गुरुङ र गण्डकी गाउँपालिकामा तोकमान श्रेष्ठ अध्यक्षमा चयन भएको एमाले गोरखाले जनाएको छ । पालिकामा गठन भएको कमिटी ३१ देखी ४९ सदस्ययी रहेका छन् । चुमनुब्री गाउँपालिकामा भने जेठ महिनाभित्र अधिवेशन सम्पन्न गर्ने सचिव रोकाले बताए । ‘चुमनुब्रीको अधिवेशनका लागी केही पुर्व तयारीहरु बाँकी छन्’, उनले भने, ‘यो महिनाभित्र कमिटी गठन गरिसक्छौ ।’
गत फागुन महिनामा एमालेले जिल्ला अधिवेशन गरेको एमालेले अहिले पालिका र वडा स्तरीय अधिवेशन गरिरहेको छ । दश पालिका र २० भन्दा बढी वडाहरुमा कमिटी गठन भइसकेको सचिव रोकाले बताए । ‘९४ वडाहरु मध्य २० भन्दा बढी वडाहरुमा वडा स्तरीय कमिटि गठन भईसकेका छन्’, उनले भने, ‘यही जेठ मसान्त भित्र सबै पालिका र वडा स्तरीमा कमिटिहरु गठन हुनेछन् ।’ जेठ मसान्त भित्र पार्टी सदस्यता नवीकरणको काम समेत सम्पन्न गर्ने उनले जानकारी गराए ।




