
कोखे आहालेको जुगेपानी पहिरो नियन्त्रणको काम सम्पन्न
गोरखा नगरपालिका वडा नं २ कोखे आहाले नजिकैको जुगेपानी पहिरो नियन्त्रणको काम सम्पन्न भएको छ । गोरखा–घ्याम्पेसाल–आरुघाट सडक अन्तरगत पर्ने उक्त सडक खण्डको पहिरो नियन्त्रणको जिम्मा आइडी कन्स्ट्रक्सनले पाएको थियो । कम्पनीले पहिलो पटकको निर्धारित समयमा काम सम्पन्न नगरेपछि पुनः दोस्रो पटक समय थप भएकोे थियो ।
ठेकेदार कम्पनीले दोस्रो पटकको निर्धारित समय बैशाख मसान्तभित्रै काम सम्पन्न गरेको सडक डिभिजन कार्यलय दमौलीका ईन्जिनियर हरि बहादुर लामाले जानकारी दिए । पहिरो नियन्त्रणका लागि सडक डिभिजन कार्यालय दमौलीले गत वर्षको जेठ १२ गते आइडी कन्स्ट्रक्सनसँग ठेक्का सम्झौँता गरेको उनले बताए ।
‘पहिरो नियन्त्रणका लागि कार्यालयले ३ करोड ४५ लाखमा आइडी कन्स्ट्रक्सनसँग ठेक्का सम्झौँता गरेको थियो’, उनले भने, ‘ठेक्का अन्तरगतको सम्पूर्ण कामहरु सम्पन्न भइसकेका छन् ।’ पहिरो संरक्षण र सतह जल निकासी अन्तरगतको सम्पूर्ण कामहरु सम्पन्न भईसकेको उनले बताए । ‘सडकलाई यो वर्ष अब्जर्भेसनमा राखेका छौँ’, उनले भने, ‘त्येसैले कालोपत्रेको काम भने अर्को वर्ष मात्र हुन्छ ।’ उक्त सडक खण्डको डिजाईनरले नै यो वर्ष कालोपत्रे गर्न नमिल्ने भनेकाले कालोपत्रेको काम बाँकी राखेको उनले बताए ।
जुगेपानी पहिरोका कारण गोरखा नगरपालिका वडा नं १, २, भीमसेनथापा गाउँपालिका, बारपाक सुलिकोट गाउँपालिका, आरुघाट गाउँपालिका, घार्चे गाउँपालिका र चुमनुब्री गाउँपालिकाका सर्वसाधारणले सो खण्डमा यात्रा गर्दा वर्षेनी सास्ती पाउँदै आएका थिए । उत्तरी गोरखा लगायत जिल्लाका विभिन्न ठाउँहरूलाई सदरमुकामसम्म जोड्ने प्रमुख सडक मर्मत भएसँगै सवारी यात्रुहरुलाई धेरै सहज हुने भएको छ ।




