| मङ्लबार, कार्तिक २४, २०८३

ट्राफिक सप्ताह–२०८१ सम्पन्न

जिल्लामा जारी ट्राफिक सप्ताह सम्पन्न भएको छ । सोमबार जिल्ला ट्राफिक प्रहरी कार्यलय गोरखाले समीक्षात्मक कार्यक्रमको आयोजना गरी ‘ट्राफिक सप्ताह–२०८१’को समापन गरेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यलयले र मातहतका कार्यालयहरुले ट्राफिक सप्ताह अवधीभर ६ सय ७५ वटा सचेतनामूलक कार्यक्रम संचालन गरेको जिल्ला ट्राफिक प्रमुख शिवप्रसाद पाठकले जानकारी दिए ।

‘सप्ताह अवधीमा जिल्लाभर ६ सय ७५ वटा कार्यक्रमहरु संचालन भएका छन्’, उनले भने, ‘जसअन्तरगत चालक÷ सहचालक प्रशिक्षण, चालक÷सहचालक स्वास्थ्य चेकजाँच, सर्वसाधरणलाई प्रशिक्षण, सेना÷सशस्त्र÷प्रहरी प्रशिक्षण, पर्चा पम्प्लेट वितरण र विद्यार्थी प्रशिक्षण लगायतका कार्यक्रमहरु संचालन भएका थिए ।’ सप्ताहबाट करिब ३९ हजार ९ सय १६ जना लाभान्वित बनेको कार्यलयको भनाइ छ ।
समीक्षात्मक कार्यक्रमका सहभागीहरुले ट्राफिक सप्ताह–२०८१ भव्य रुपमा सफल भएको बताएका छन् । विगतका वर्षहरुको भन्दा यो वर्षको ट्राफिक सप्ताह निकै प्रभावकारी बनेको सहभागीहरुको भनाइ छ । कार्यक्रमकै अवसरमा जिल्ला ट्राफिक प्रमुख पाठकले सप्ताहले सवारी दुर्घटना न्युनिकरणमा अहम् भुमिका खेलेको बताएका छन् । उनले सवारी साधन व्यवस्थापन र दुर्घटना न्युनिकरण एक पक्षबाट मात्र सम्भव नहुने र सबै पक्ष मिलेर काम गर्नु पर्ने बताएका छन् ।
जिल्ला ट्राफिक प्रमुख शिव पाठकले सहजीकरण गराएको समीक्षात्मक कार्यक्रममा जिल्ला प्रहरी कार्यलय प्रमुख बासुदेव पाठक, पूर्वधार बिकास कार्यालय गोरखाका ईन्जिनियर कपिल काप्री, दरौँदी यातायात प्रालिका अध्यक्ष नारायण खत्री, उद्योग वाणिज्य संघ गोरखाका कार्यवाहक अध्यक्ष भगवानबाबु मास्के, गोरखा चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष रामस्वरुप श्रेष्ठ, पत्रकार महासंघ गोरखाका कार्यवाहक अध्यक्ष नरेन्द्र ढकाल, गोरखा नगरपालिकाका वातावरण अधिकृत ध्रुव घिमिरे लगायतले मन्तव्य राखेका थिए ।
सप्ताह अन्तरगतको अन्तिम दिन सोमबार ट्राफिक कार्यालयले रक्तदान कार्यक्रम समेत संचालन गरेको थियो । कार्यालयले नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाको समन्वयमा रक्तदान कार्यक्रम संचालन गरेको हो । कार्यक्रमबाट २० पिन्ट रगत संकलन गरिएको जिल्ला ट्राफिक कार्यलय गोरखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्