
यार्सागुम्बा टिप्न छेकम्पारबासीलाई मौसमले साथ दिएन
चुमनुब्री गाउँपालिका ७ छेकम्पारका बासिन्दा यार्सागुम्बा संकलन गर्न छेके, बाजु, फुच्युन लेकतिर गएका छन् । प्रमुख आम्दानीको स्रोतका रुपमा रहेको यार्सागुम्बा संकलन गर्न बिगत दुईसातादेखि आफूहरु लेकतिर गएको स्थानीय ताञ्जिन लामाले बताए ।
‘गाउँमा घरकुरुवा मात्र छाडेर अरु सबैजना लेकमा आएका छौँ’, उनले भने, ‘दुईहप्ता भयो आएको तर, मौसम राम्रो नहुँदा समस्या भइरहेको छ ।’ छिनमै घाम लाग्ने, छिनमै हिउँ पर्ने गरेको उनको भनाइ छ । ‘छिनछिनमा हिउँ पर्छ । अनि यार्सागुम्बा टिप्ने भुइ हिउँले छोपिन्छ’, उनले भने, ‘दुई हप्ता भइसक्यो, अहिलेसम्म खासै कसैले पनि यार्सागुम्बा टिप्न सकेका छ्रैनन् ।’
यार्सागुम्बा टिप्न काखेबच्चासमेत बोकेर महिलाहरु लेक पुगेका छन् ।
गोठालाहरु गोठका याकचौँरीसमेत लेकमा लिएर गएका छन् । ‘लेकमा टेण्ट टाँगेर अस्थायी घर बनाउँछौँ । दिनभरि यार्सागुम्बा टिप्न जान्छौं र साँझ टहरोमा बस्न आउँछौँ’, तान्जिन लामा भन्छन्, ‘गाउँलेको बर्षभरि हातमुख जोर्ने मुख्य आम्दानीको स्रोत भनेपनि यार्सागुम्बा नै हो त्यसैले, जति दुख सहेर गाउँलेहरु लेकमा जान्छन् ।’
अरु बेला काठमाडौँमा बस्ने गाउँका मान्छेहरु पनि सिजन लागेपछि यार्सागुम्बा टिप्न गाउँ फर्किने गर्छन् ।
यार्सागुम्बा संकलन गर्न स्थानीयबासीले मनास्लु संरक्षण क्षेत्र आयोजनाको मूल समितिलाई जनही पाँचसय रुपैयाँ तिर्ने गर्छन् भने निकासीका लागि मनास्लु संरक्षण क्षेत्र संपर्क कार्यालयलाई प्रतिकिलो ३१ हजार रुपैयाँ राजस्व तिर्नुपर्ने व्यवस्था छ ।




