
जुत्ता चप्पल बनाउँदै बेच्दै जनप्रतिनिधि, भन्छिन : श्रम र सिपले आत्मानिर्भर बनाउँछ
प्रतिक्षा आले :
चुनाव जितेर जनप्रतिनिधि भएकालाई राज्यले पनि वारियता क्रममा चुलीस्थान दिएको छ । जनताबाट अनुमोदित, राज्यद्वारा पहिचानप्राप्त भएपछि उनीहरुको रापताप कति बढ्छ भन्ने गाउँठाउँमा सबैले महशुस गरेकै कुरा हो ।
तर सबैमा यो लागु हुन्न भन्ने प्रमाण गोरखा नगरपालिका ६ ठूलोआँगन पुग्दा देखिन्छ । ठूलोआँगनको पश्चिम कवलमा ‘अनिष सुज सेण्टर’ छ, जहाँ एक महिला जुत्ता सिउनमा मग्नमस्त देखिन्छिन् । उनी हुन् गत निर्वाचनमा गोरखा नगरपालिका वडा नं. ६ बाट चुनिएकी दलित महिला सदस्य मनिषा परियार ।
जनप्रतिनिधि भएपनि आफ्नो जग छोड्नु हुन्न, श्रम र सीपको भरोशा छोड्नु हुन्न भन्ने आदर्शमा उभिएकी उनी बिगत १५ बर्षदेखि अनबरत जुत्ता, चप्पल बनाएर परिबार पाल्दै आएकी छिन् ।
२० बर्षको उमेरमै यो पेशामा अव्वल भइसकेकी थिइन् उनी । उनले बनाएको छालाको जुत्ता चप्पल नरुचाउने कमै थिए । पोखराथोक निवासी उनले विगत २०६५ सालदेखि सुरु गरेको पेशालाई गोरखा निरन्तरता दिइरहेकी छिन् । अन्तरजातीय विवाह गरेकी उनले जुत्ता चप्पल बनाउने सीप आफ्नै श्रीमान् अर्जुन सिर्मलबाट सिकिन् ।
‘उहाँ काठमाडौंमा जुत्ता बनाउने काम गर्नुहुन्थ्यो,’ उनले भनिन्, ‘उहाँबाटै यो सिप सिकेको हुँ ।’ काम गर्दाका थुप्रै अप्ठ्यारा परिस्थिति सामना गर्नुपरेको अनुभव उनीसँग छ ।
काठमाडौँमा काम गर्दै आएका उनीहरु गृहनगरमै व्यवसाय संचालन गर्ने योजना बनाएर २०६१÷६२ मा गोरखा आएका थिए । सोचेजस्तो गरी व्यापार व्यवसाय नभएपछि व्यवसाय नै बन्द गरेर अर्जुन बिदेशिन बाध्य भए । ‘काठमाडौंमा काम गर्दागर्दै आफ्नै व्यवसाय गर्ने भनेर गोरखा आयौँ तर, सोचेजस्तो व्यापार नभएपछि व्यवसाय नै बन्द गरेर उहाँ बिदेशिनुप¥यो,’ उनले भनिन् ।
सामाजिक दृष्टिकोण र कमजोर आत्मबलका कारण उनी एक्लैलाई त्यो व्यवसाय संचालन गर्ने आँट आएन । २०६५ सालमा अर्जुन बिदेशबाट फर्केपछि उनीहरुमा फेरि थप आत्मबल बढ्यो । अनि दुवै मिलेर फेरि उही जुत्ता, चप्पल बनाउने व्यवसायलाई लय दिन थाले । ‘अहिलेको जस्तो आँट र आत्मबल त्यतिबेला भैदिएको भए सायद श्रीमान बाहिर हुँदा पनि व्यवसाय चाँहि निरन्तर संचालन गर्थेँ होला’, उनी भन्छिन्, ‘त्यो बेलाको समाज र परिस्थिति नै त्यस्तै थियो ।
महिला भएर पनि जुत्ता बनाउने ? भनेर सुरुसुरुमा धेरैले आलोचना गरे ।’ तर कर्ममा बिश्वास गर्ने उनलाई ती कुराले खासै अर्थ राखेन ।
उनी अहिले छालाको जुत्ता चप्पल बनाउन निकै अव्वल भइसकिन् ।
उनले बनाएको जुत्ताको क्रेज छुट्टै छ । ग्राहकहरु खोज्दै उनीकहाँ जुत्ता चप्पल लिन आइपुग्छन् । ‘वर्षाै अगाडि जुत्ता किनेर लगेका टाढा टाढाका ग्राहकहरु पसल खोज्दै आउँछन् । चिन्नुभएन ? अस्तिनै जुत्ता लगेको थिएँ नि भन्दै ग्राहक आउँदा खुशी लाग्छ’, ठट्यौली पारामा उनले भनिन् । गोरखा सदरमुकामको ठुलोआँगनमा ‘अनिष सु सेन्टर’ नामको उनको पसल छ । त्यहाँ राखिएका अधिकांश छालाका जुत्ता चप्पल उनी आफैले बनाएकी हुन् । उनी भन्छिन्, ‘म त सबै खाले जुत्ता बनाइदिन्छु । बाध्यतामा सिकेको सिप हो यो, अहिले रोजीरोटी नै यसैमा चलेको छ ।’
श्रम र सीप ठूलो हो, श्रमप्रतिको लगाव ठूलो हो अनि आत्मनिर्भर हुनसक्नु ठूलो हो भन्ने उनको आदर्श छ । उनले यो आदर्श बुहारीमा पुस्तान्तर गरिन् । नभन्दै उनको मर्म र भावनामा एकाकार भएर बुहारी अनुषाले पसलमा साथ दिन थालिन् । ‘बुहारीले पनि काम सिकाइदिनु भन्छिन्, उनको कामप्रतिको चाहना देखेर खुसी लाग्छ । उसलाई पनि बिस्तारै काम सिकाउँदै छु’ उनले भनिन् ।




