
गोरखामा ट्राफिक सप्ताह सुरु
जिल्लामा ‘ट्राफिक सप्ताह–२०८१’ सुरु भएको छ । सवारी नियम उल्लघंन र दुर्घटना न्यूनिकरण गर्ने उदेश्यका साथ मंगलवारबाट सप्ताह सुरु भएको हो । पहिलो दिन ट्राफिक नियम सम्बन्धी सचेतनामूलक नारा लेखिएको प्ले कार्ड सहित प्रभातफेरी गरिएको छ ।
बसपार्कबाट शुरु भएको प्रभातफेरी बिसौनी हुदै जिल्ला समन्वय समिति परिसरमा पुगेर कार्यक्रममा परिणत भएको थियो । कार्यक्रमकाबीच जिल्ला समन्वय समिति प्रमुख मोहनबहादुर थापाले ट्राफिक सप्ताहको औपचारिक रुपमा उद्घाटन गरेका हुन् ।
सप्ताह अन्तरगत हरेक दिन बिभिन्न कार्यक्रम संचालन हुने जिल्ला ट्राफिक इन्चार्ज शिवप्रसाद पाठकले बताए । उनका अनुसार सवारी साधनहरुमा सचेतनामूलक स्टिकर टाँस्ने, स्वयंसेवक परिचालन गरी ट्राफिक सचेतना फैलाउने, ग्रामीण सडक लक्षित प्रशिक्षण कार्यक्रम संचालन गर्ने, सदरमुकाम लक्षित चालक परिचालक प्रशिक्षण कार्यक्रम संचालन गर्ने, सडक प्रयोग सम्बन्धी सर्वसाधरणलाई सचेतना गराउने, सवारी चालकहरुको स्वास्थ्य परिक्षण गर्ने लगायतका कार्यक्रमहरु हुनेछन् ।
शहरी क्षेत्रमा पार्किङ व्यवस्थापनमा सहजीकरण गर्ने, लघु सचेतना कार्यक्रम मार्फत ट्राफिक नियमबारे जानकारी गराउने, सञ्चारकर्मी र सरोकारवालासँग अन्तरक्रियासँगै रक्तदान र दिप प्रज्वलन लगायतका कार्यक्रम समेत हुने पाठकले जानकारी दिए ।
उद्घाटन कार्यक्रममा जिल्लास्थित जनप्रतिनिधिहरु, विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरु, विद्यार्थी, सर्वसाधारण लगायतको सहभागीता रहेको थियो । गण्डकी प्रदेशका ११ वटै जिल्लामा एकसाथ ट्राफिक सप्ताह सुरु भएको बताइएको छ ।




