| मङ्लबार, कार्तिक २४, २०८३

सडक आश्रित मानवमुक्त जिल्ला घोषणा गर्न माग

अनाथ, असहाय र अशक्तहरुको व्यवस्थापनका लागि जिल्लामा ‘सडक मानव व्यवस्थापन तथा उद्धार राहतका लागि सरोकारवालाहरुसँग अन्तरक्रिया’ विषयक कार्यक्रम सम्पन्न भएको छ । सोमबार सामाजिक बिकास कार्यालय गोरखाको आयोजना तथा मानव सेवा आश्रम गोरखाको सहजीकरणमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

जिल्लाको प्रायः सबै स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, सुरक्षा निकायका प्रमुख लगायतको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा जिल्लाभित्रका सडक आश्रित व्यक्तिहरुको व्यवस्थापनको विषयमा अन्तरक्रिया भएको थियो । अन्तरक्रिया कार्यक्रममा मानव सेवा आश्रम गोरखा शाखाकी संचालक मुना लामाले हाल आश्रममा ४३ जना बालबालिकाहरु आश्रित रहेको जानकारी दिइन् ।

२०७६ सालमा स्थापना भएको मानव सेवा आश्रम गोरखा शाखाले जिल्लाभित्र सडक मानव व्यवस्थापन तथा अनाथ असहाय र अशक्तहरुको उद्धारमा निरन्तर काम गरिरहेको छ । आश्रमले हालसम्म जिल्लाका ७२ जनालाई उद्धार गरेको संचालक लामाले बताइन् । जसमध्य १९ जनाको पारिवारीक पुनर्मिलन भएको र १२ जनाले स्वेच्छाले आश्रम छाडेर गएको उनको भनाइ छ । ‘हाम्रो आफ्नै भवन निर्माणधीन अवस्थामा छ’, संचालक लामाले भनिन्, ‘आफ्नै भवनमा सरेपछि हामीले एकैचोटी एकसयभन्दा बढि बालबालिकाहरुलाई व्यवस्थित तरिकाले राख्न सक्छौँ ।’

गोरखालाई सहयोगापेक्षी सडक आश्रित मानवमुक्त जिल्ला घोषणा गर्नका लागि सबै स्थानीय निकायहरुले आफ्नो भूमिका खेल्नु पर्ने उनले बताइन् । कार्यक्रममा गोरखा नगरपालिकाका प्रमुख कृष्ण रानाले जिल्लाको विभिन्न क्षेत्रहरुबाट मानसिक रुपमा विक्षिप्त भएका व्यक्तिहरु घर छाडेर सदरमुकाम आईपुग्ने गरेको बताएका छन् । जसका कारण गोरखा नगरपालिकालाई थप जिम्मेवारी थपिएको उनको भनाइ छ ।

गोरखा नगरपालिकाले सडक आश्रित व्यक्तिहरुको व्यवस्थापनमा निरन्तर पहल चालिरहेको मेयर रानाले बताए । ‘गोरखा नगरपालिका बजारी क्षेत्र पनि भएकाले यहाँ विभिन्न क्षेत्रबाट मानिसहरु आएर सडकमै अलपत्र परेको अवस्था छ’, उनले भने, ‘यसरी अलपत्र परेकाहरुको व्यवस्थापनका लागि गोरखा नगरपालिकाले सक्दो सहयोग र समन्वय गर्दै आएको छ ।’ सबै स्थानीय तहहरुले आफ्नो पालिका भित्रको बेसाहारा, अशक्त, अनाथ र मानसिक तथा शारीरिक रुपमा कमजोर व्यक्तिहरुको व्यवस्थापन गरी गोरखालाई सहयोगापेक्षी सडक आश्रित मानवमुक्त जिल्ला बनाउनु पर्ने उनले बताए ।

अन्तरक्रियाकै क्रममा जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी बासुदेव पाठकले सहयोगापेक्षी व्यक्तिहरुको उद्धारपश्चात उनीहरुको पुनस्र्थापना गर्न धेरै गाह्रो भएको बताए । उनी भन्छन्, ‘कतिपय अवस्थामा हामी कहाँ पुन समाजमा फर्कन नसक्ने अवस्थाका पीडितहरु आउनु हुन्छ । हामी कानुनी प्रक्रियामा जाने काम त गर्छौँ तर उहाँहरुको व्यवस्थापन गर्ने कुराले प्रहरी प्रशासनलाई निकै असहज बनाएको छ ।’ जिल्ला अस्पतालमा जस्तै सामाजिक बिकास कार्यालय लगायतका कार्यलयहरुका पनि एकद्वार संकट व्यवस्थापन केन्द्र(ओसिएमसी) स्थापना गर्नु आवश्यक रहेको उनले बताए ।

सामाजिक बिकास कार्यालय गोरखाका प्रमुख दीपेन्द्र परियारको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख मोहन बहादुर थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पत्रकार महासंघ गोरखाका उपाध्यक्ष नरेन्द्र ढकाल, जिल्ला प्रहरी कार्यलय प्रमुख एसपी बासुदेव पाठक, गोरखा नगरपालिकाका मेयर कृष्ण राना लगायत अन्य पालिकाहरुको प्रमुख एवं प्रतिनिधिहरुले मन्तव्य व्यक्त राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्