| मङ्लबार, कार्तिक २४, २०८३

बूढीगण्डकीले रित्यायो आरुघाट : चारसय बर्षको बिरासत बोकेको आरुघाट सुनसानप्राय

शिव उप्रेती । धेरै प्राचीन बजार हो आरुघाट । दुईसयबर्षअघि बजार बसेको प्रमाण आरुघाटबासीसंग छ ।सदरमुकाम(गोरखाबजार)पछिको दोस्रो ठूलो बजार भनेर केही अघिसम्म आरुघाटलाई चिनिन्थ्यो । तर जब १२०० मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजना बन्ने चर्चा चल्न थाल्यो, तब यो बजार क्रमशः उठ्न थाल्यो ।

राजमार्ग नखुल्दै गोरखा र यसभन्दा पश्चिमका पहाडी जिल्लाबाट राजधानी छिर्ने मूलबाटोमा पर्ने आरुघाटको पहिचान ऐतिहासिक छ । काठमाडौं जाने मूलबाटोमा पर्ने अरु बजारभन्दा तुलनात्मक रुपमा ठूलो भएको हुँदा सयौँ बर्षदेखि यसको परिचयको घेरा फराकिलो थियो ।

गोरखाको आधाभन्दा बढि भूभाग ओगटेको चुमनुब्री गाउँपालिका, धार्चे गाउँपालिका, भीमसेनथापा गाउँपालिका र आरुघाट गाउँपालिकाको प्रमुख बजारका रुपमा यसको परिचय स्थापित थियो । त्यसैले, पूर्व पश्चिम राजमार्ग, काठमाडौँ पोखरा राजमार्ग खुलेपछि पनि आरुघाट बजार गुल्जारै रह्यो । प्रसिद्ध मनास्लु पर्यटन पदमार्ग जाने मूलबाटोमा पर्ने हुँदा यसले प्राचीन बिरासत जोगाइरह्यो । तर यो बजार अहिले रित्तिँदै गइरहेकोछ ।

सत्तरीको दशकबाट जब बूढीगण्डकी आयोजनाको चर्चा घनिभूत भयो, तब हुर्काउला बारुलाले गोलो छाड्दै गएझैँ, आरुघाटबासीले थातथलो छाड्दै गए । भूकम्पले घर भत्काइदिएपछि घर छाड्ने दर बढ्दै गएको हो ।
छाड्नेहरु प्राय काठमाडौँ बसाइँ सरेका स्थानीय गणेशकुमार श्रेष्ठको भनाइ छ । उनका अनुसार बूढीगण्डकी आयोजनाबाट घरजग्गाको मुआव्जा पाएपछि झन आरुघाट छाड्नेको दर ह्वात्तै बढ्यो ।

‘धेरै कमाइ हुनेहरुले त पहिलैदेखि आरुघाट छाड्दै, काठमाडौँ सर्दै गरेका हुन्’, उनी भन्छन्, ‘तैपनि बूढीगण्डकीले घरजग्गाको मुआव्जा दिएपछि बिगत पाँचबर्षयता आरुघाट छाड्नेको दर ह्वात्तै बढेको हो ।’ कतिपयले घरमा ताल्चा ठोकेर नफर्कनेगरी गएका छन्, कोही भने बर्षमा एकदुईफेर आउने गरी । जेजसरी गएपनि आरुघाट बजार अहिले सुनसानप्राय देखिन्छ ।

स्थानीय किराना व्यापारी कृष्ण पोखरेलका अनुसार पहिले आरुघाट बजारका घर भरिभराउ थियो । तर अहिले हिउँदका बेला भेँडाबाख्रा बेशी झरेपछिको लेकको गोठ थोत्रिएसरी आरुघाट बजार थोत्रिएको उनको भनाइ छ । ‘सत्तरी सालसम्म त आरुघाट बजार मेन सेण्टर प्वाइन्ट थियो । एउटै घर खालि थिएनन्, सब भरिभराउ थियो । पुराना घरानियाँ साहुजीहरुको काठमाडौँ, पोखरातिर पनि घर थियो, यहाँको व्यापार, बिजनेस पनि छोडेका थिएनन्’, उनले भने, ‘गोरखा जाने, काठमाडौँ पोखरा जाने र लेखतिर जानेको आरुघाटमा घुचुरो हुन्थ्यो ।

कर्मचारी, बोर्डिङमा बच्च पढाउन आउनेहरुको भीडभाड उस्तै हुन्थ्यो । जब बूढीगण्डकीको हल्ला चल्न थाल्यो, त्यसपछि मान्छेले बिस्तारै बाटो तताउन थाले । झन ७२ सालको भुइँचालोले घर भत्काइदियो । डुबान क्षेत्रमा पक्की घर बनाउन भुकम्पको राहत पनि नपाउने रहेछ । मुआव्जा पनि पाउने भएपछि त यहाँ घर बनाएर बस्नुभन्दा काठमाडौँतिरै बस्ने भनेर सबैजना छाडेर गइहाले । बजार चकमन्न छ । दिनभरिमा बोहनी मात्र हुनपनि गाह्रो छ ।’

अहिले आरुघाटको पुरानो बजार(मुख्यबजार)को दुवैलाइनका घरहरुमा तालाचापी ठोकिएका छन् । कुनैका गारोमा झारपात उम्रिएका छन्, कुनैका पालि घर्किन थालिसकेका छन्, कुनैको गाह्रो । रेखदेख नहुँदा आँगन र पिँढी पनि चहुरजस्तो भएको छ । ‘जुन पुरानो बजार हो, त्यो त रित्तिसक्यो’, गणेशकुमार श्रेष्ठ भन्छन्, ‘विजुली टोलतिरको बस्तीलेचाहिँ आरुघाटको साख जोगाइराखेको छ ।’ त्यस्ताको घर खालि नभए पनि पहिलेझैँ अन्यत्रबाट मान्छे बस्न आउने क्रम ठप्प रहेको उनको भनाइ छ । ‘पहिले त लेखतिरबाट मान्छेहरु बस्न आउँथे । पसल थाप्न आउँथे । अहिले त कुनै पनि टोलमा मान्छे बस्न आउँदैनन्’, उनी भन्छन्, ‘जानेहरु गएको गयै, आउनेहरु ठप्पै भएपछि बजार एकदिन खालि हुन्न त ?’

१० बर्षअघिसम्म आरुघाट बजारमा करिब चारसय घरधुरीले थिए । तर अहिले ५० प्रतिशत पनि बाँकी नरहेको आरुघाट बजार अवस्थित वडा नं. ९ का वडाअध्यक्ष वुद्धिप्रसाद श्रेष्ठको भनाइ छ । ‘चारसय बर्ष अघि काठमाडौँबाट आएका नेवारले माझीको प्रेरणाबाट थापेको बजार हो भन्ने किंवदन्ती छ । दुईसयबर्ष अघिको हो भन्नेचाहिँ भीमसेनथानमा लेखिएको सिलालेखमा उल्लेख छ’, उनले भने, ‘२०४६ सालमा जब प्रजातन्त्र पुनर्वहाली भयो, त्यसपछि धार्चे, चुमनुब्रीदेखिका मान्छेहरु यहाँ आएर बस्न थालेपछि तिब्र बिस्तार भएको बजार हो तर, २०७२ सालपछि भुइँचालो र बूढीगण्डकी आयोजनाले आरुघाट बजार रित्यायो ।’

अहिले इलाका प्रहरी कार्यालयभन्दा तलको पुरानो मुख्य बजार सुनसानप्राय भइसकेको छ । विजुलीचोक क्षेत्रमा भने यथावत रहेको वडाअध्यक्ष श्रेष्ठको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्