| मङ्लबार, कार्तिक २४, २०८३

खानेपानीको माग गर्दै रित्तोगाग्रीसहित सिडिओ कार्यालयमा पुगे रानीबनबासी

गोरखा नगरपालिका वडा नं ८ रानीबनका स्थानीयहरु रित्तोगाग्रीसहित सडिओ कार्यलयमा पुगेका छन् । रानीबन क्षेत्रमा पानी वितरणको जिम्मा पाएको दरौँदी लिफ्टिङ खानेपानीको लापरबाहीका कारण आपूmहरुलाई समस्या परेको उनीहरुको गुनासो छ । खानेपानीको हाहाकार भएसँगै रानीबनबासीले बिहिबार खानेपानीको माग गर्दै प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ज्ञापन पत्र बुझाएका हुन् ।

दरौँदी लिफ्टिङले गोरखा सदरमुकामक्षेत्रका २१ साना खानेपानी योजनाहरुलाई खानेपानी वितरण गर्ने योजनासहित रकम संकलन गरेको थियो । निर्माण सम्पन्न भएको २ वर्ष बितिसक्दा समेत आफूहरुलाई पानी वितरण नगरेको भन्दै रानीवनबासीले आपत्ति जनाएका छन् ।

गोनपा ८ स्थित रानीवन, चाइनिजधारा, खोलखोले लगायतका क्षेत्रहरुको २५० घरधुरीलाई तारेभिर खानेपानी आयोजनाले पानी वितरण गर्दै आएकोे छ । सुख्खायाम बढेसँगै पानीको मुल सुकेर उपभोक्ताहरुलाई पानी वितरण गर्न नसकेको तारेभिर खानेपानी आयोजनाका अध्यक्ष बाबुराम खत्रीले बताए । उनी भन्छन्, ‘दरौँदी लिफ्टिङले हाम्रो आयोजनालाई पानी वितरण गर्छौँ भनेर रकम संकलन ग¥यो तर काम भने गरेको छैन् ।’ अहिले तारेभिरले उपभोक्ताहरुलाई १० दिनको अवधिमा प्रतिघर जम्मा ३०० लिटर पानी मात्र उपलब्ध गराउन सकेको उनको भनाई छ ।

करिब ४४ करोड लागतमा २०७८ सालमा निर्माण सम्पन्न भएको दरौँदी लिफ्टिङको निर्माण सम्पन्न भएपछि गोरखामा पानीको हाहाकार हुँदैन भनेर सुरुदेखि नै चर्चा थियो । तर, दरौँदी लिफ्टिङको लापरबाहीका कारण रानीबनबासीले खानेपानी उपभोग गर्न पाएका छैनन् । ‘दरौँदीले पानी वितरण गर्छौ भनेर प्रति घर ४ हजारदेखि ६ हजारसम्म उठायो’, स्थानीय ईश्वर केसीले भने, ‘उनीहरुले खानेपानी ट्याङ्की मात्र निर्माण गरेको छ, अरु कामहरु भएकै छैनन् ।’

तारेभीर खानेपानी आयोजनाको मुल सुक्दै गएको बताउँदै उनले खानेपानीको लागि रानीबनबासीको दरौँदी लिफ्टिङ बाहेक अन्य विकल्प नरहेको बताए । तारेभीर खानेपानी आयोजनाले ६ साना मुलहरु मिलाएर लिफ्टिङमार्फत उपभोक्ताहरुलाई पानी वितरण गराउँदै आएका छ । ६ मुलहरुमध्य एउटा मुल रिपुर्मदन गण ठिगुँरेस्वाराले बिना शुल्क उपभोक गर्दै आएको अध्यक्ष बाबुराम खत्रीले जनाए । रिपुर्मदन गणले २०६८ सालदेखि नै तारेभिर खानेपानी अन्तरगतको मुलबाट बिना शुल्क पाइप लगाएर पानी उपभोग गर्दै आएको उनको गुनासो छ ।

‘उहाँहरुले उपभोक्ताहरुले प्रयोग गर्दै आएको मुलको पानी पाइप लाएर लैजानु भयो’, उनले भने, ‘हाम्रो संस्थाले उहाँहरुलाई पटक पटक पत्रचार गर्दा समेत न मिटर जडान् गर्नुभयो न त शुल्क नै तिर्नुभयो ।’ आयोजनाले सेनासँग आवश्यक पहल गरिदिन समेत प्रमुख जिल्ला अधिकारीलाई माग गरेका छन् । ‘तारेभीर खानेपानीको मुख्य श्रोत भनेको ६ वटा मुलहरु नै हुन्, अहिले एउटा मुल सेनाले लगेको छ’, अध्यक्ष खत्रीले भने, ‘पानी वितरण गर्छौ भनेर सम्झौँता गरेको दरौँदी लिफ्टिङले समेत काममा आनाकानी गर्दा हाम्रो उपभोक्ताहरुलाई निकै समस्या परेको छ ।’

प्रतिक्रिया दिनुहोस्