
गण्डकी गाउँपालिकामा ‘आमाघर’ सुदृढिकरण लागि साझेदारी
प्रतिक्षा आले मगर
गण्डकी गाउँपालिकामा मातृशिशु स्वास्थ्य सुनिश्चितताका लागिचालु आर्थिक बर्षदेखि ‘आमाघर’ परियोजना सञ्चालन भइरहेको छ । सो परियोजनालाईथप सुदृढ गर्नका लागि गाउँपालिका र असल छिमेकी नेपाल बीच साझेदारी भएको छ ।
परियोजनाको व्यवस्थापनका लागि आवश्यक सामाग्री सहयोगस्वरुप उपलब्ध गराउने विषयमा मंगलबार सो संस्थासँग पालिकाले साझेदारी गरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कुमार सुनारले जानकारी दिए ।
सुत्केरी महिला तथा नवजात शिशुको सुरक्षा र स्वास्थ्य सुनिश्चितताका लागि पालिकाले‘आमाघर’परियोजना सञ्चालन गरिरहेकोउनले बताए । सम्झौता अनुसार असल छिमेकीको ९ लाख र गण्डकी गाउँपालिकाको ३ लाख गरी १२ लाख लागतमा पालिका भित्र संचालित ‘आमाघर’हरुमा आधारभूत सामाग्री व्यवस्थापन गर्ने उनले बताए । आमाघरमा स्वास्थ्य सामाग्रीका साथै बेड, पङ्खा, हिटर, खाद्य सामाग्री, भाँडाकुँडा, लत्ताकपडा लगायतका सामाग्रीहरु थप गरेर आमाघरको सेवासुविधा थप गर्ने उद्देश्यले साझेदारी भएको उनको भनाई छ ।
परियोजनाले पालिका भित्रका आर्थिक अवस्था कमजोर भएका सुत्केरी महिलाहरुलाई राहतका प्याकेज दिने गरेको पालिकाका अध्यक्ष दिपक तिमिल्सिना बताउँछन् । ‘हाम्रो पालिकामा आर्थिक रुपले विपन्न समुदायहरु धेरै हुनुहुन्छ’, उनले भने, ‘उहाँहरुलाई नै लक्षित गरेर ‘आमाघर’ परियोजना ल्याएका हौँ ।’पालिकाभित्र मातृ तथा बाल मृत्यु दरलाई शून्य बनाउने लक्ष्यका साथ गाउँपालिका अघि बढेको उनको भनाइ छ ।
गण्डकी गाउँपालिका भित्रका ६ वटा बर्थिङ सेन्टरहरुमा ‘आमाघर’ संचालनमा आएको छ । बर्थिङ सेन्टरहरुको एउटा कोठामा आमाघर संचालन गरिएको हो । पालिकाभित्रका सुत्केरीहरुलाई स्वास्थ्य संस्थासम्म आईपुग्न नै गाह्रो हुने अवस्थामा उनीहरु सुरक्षित नभएसम्म स्वास्थ्य संस्थामा नै बस्ने व्यवस्था मिलाउन पालिकाले आमा घरको परियोजना ल्याएको पालिका अध्यक्ष तिमिल्सिनाले बताए ।
‘पालिकाबासीहरु टाढाबाट हिडेर बर्थिङ सेन्टरसम्म आउन नै गाह्रो छ’, उनले भने, ‘उहाँहरुलाई सुरक्षित सुत्केरी गराउन र जोखिमपुर्ण स्थिति आउन नदिन यो परियोजना ल्याएका हौँ ।’पालिकाबासीलाई सुत्केरीको हेरचाह गर्ने तरिका सिकाउनका लागि पनि आमा घर संचालनमा ल्याएको उनले बताए । ‘दुर्गमका गाउँहरुबाट सुत्केरी हुन आउनेहरुलाई सुत्केरी भएपछि के कसरी बच्चाको हेरचाह गर्ने भन्ने बारेमा थाहा हुँदैन, आमा घरमा बसेपछि उहाँहरुलाई के गर्ने के नगर्ने भन्ने जानकारी दिईन्छ’, उनले भने । सुत्केरी भएपछि आमाघरमा सेवा लिएर सुरक्षित भएपछि घर फर्कने अवस्था नआएसम्म बस्न पाउने व्यवस्था रहेको पालिकाले जनाएको छ ।




