
दरौदी लिफ्टिङ खानेपानी संस्थाको पम्प हाउसमा लागेको ताला खोल्ने सहमति
दरौदी बृहत लिफ्टिङ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको गोरखा नगरपालिका–३ बेनिखोलास्थित पम्प हाउसमा दुई महिनादेखि लागेको ताला खुल्ने भएको छ । सोमवार गोरखा नगरपालिकाको खानेपानी बोर्डको आयोजनामा भएको सर्वपक्षीय र सर्वदलीय बैठकमा ताला खोल्ने सहमति भएको हो ।
‘स्थानीयको माग सम्बोधन हुने गरी केही निर्णयहरु ग¥यौँ,’ गोरखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीले भने, ‘स्थानीयले भोलि ताला खोल्छु भन्नुभएको छ ।’ पानी वितरणका लागि मंगलवार वडा नम्वर ३ मा प्राविधिक पठाएर खानेपानीको पाइपलाइनको आवश्यक मर्मत गर्ने निर्णय भएको उनले बताए ।
त्यस्तै सो क्षेत्रको स्थलगत निरीक्षण गरी खानेपानीको भावी योजना तय गर्ने उनले जानकारी दिए । ‘वडा नम्वर ३ बाट प्रतिनिधित्व हुने गरी एक जनालाई खानेपानी बोर्डमा आमन्त्रित सदस्यको रुपमा राख्ने निर्णय पनि भयो । आमन्त्रित सदस्यको रुपमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख पनि राख्ने निर्णय पनि ग¥यौ,’ उनले भने ।
पानी वितरण र पाइप लाइनको आवश्यक मर्मतको माग गर्दै स्थानीयले गत फागुन २१ गते संस्थाको पम्प हाउसमा ताला लगाएका थिए । माग सम्बोधनका लागि भन्दै उनीहरुले फागुन ८ गते गोरखा नगरपालिकामा ज्ञापन पत्र समेत बुझाएका थिए । तर माग सम्बोधनका लागि सम्बन्धित निकायले चासो नदिएको भन्दै उनीहरुले गुनासो गर्दै आएका थिए ।
यसअघि २०७३ सालदेखि निर्माण सुरु भएको उक्त आयोजना २०७८ मा सकिएको हो । निर्माण सम्पन्न भएपनि आयोजनाले ठाउँठाउँमा बिग्रेभत्केको ठाउँमा मर्मत सम्भार गरी आयोजनालाई अस्तब्यस्त बनाइरहेको छ भने पानी वितरण पनि गरेको छैन ।दरौँदीबाट लिफ्ट गरिएको पानी उपल्लोकोट हुँदै गोरखा नगरपालिका २ को केही ठाउँदेखि वडा नम्बर ३, ४, ५, ६, ७, ८, ९ सम्म बितरण गर्न सकिने समितिले जनाएको थियो ।
दरौँदी गोरखा (वृहत लिफ्टिङ) खानेपानी उपभोक्ता समितिले महशुल निर्धारण र पनि गर्न सकेको छैन । दरौँदी लिफ्टिङ करिब ४२ करोड लागतमा निर्माण भएको आयोजना हो । उक्त आयोजना निर्माण सम्पन्न भएपनि पानी निरन्तर उपलब्ध हुन नसक्दा गोरखा बजारमा पानीको समस्या भने यसअघि जस्तै छ ।




