
शहीद लखनको वडा नम्वर ७ पालिकाकै उत्कृष्ट वडा बन्न सफल
शहीद लखन गाउँपालिकाको वडा नम्वर ७ पालिकाकै उत्कृष्ट वडा बन्न सफल भएको छ । बिभिन्न मापदण्डलाई आधार मानेर पालिकाले गरेको आन्तरिक स्वःमूल्याकंनको आधारमा उक्त वडा उत्कृष्ट बन्न सफल भएको हो । पालिकाले बिभिन्न इण्डिकेटर बनाएर यो बर्षबाट वडाहरुको कामको मूल्यांकन सुरु गरेको हो ।
योजना छनोट, योजना सम्झौता, योजना रकमान्तर, भुक्तानी, सेवा प्रवाह, राजश्व संकलन, बेरुजु, सुशासन लगायतका इण्डिकेटर तयार गरिएको गाउँपालिका अध्यक्ष रमेश थापा मगरले बताए । ‘लिजाको आधारमा पालिकाको मूल्यांकन हुन्छ । हामीले पनि वडाहरुको त्यस्तै मापदण्ड बनाएर मूल्यांकन गरेका छौँ’, उनले भने, ‘सोही मापदण्ड अनुसार वडाले गरेको कार्यसम्पादनको आधारमा अंकभार प्रदान गर्छाैँ ।’ चालु आर्थिक बर्षको साउनदेखि चैत्र महिनासम्मको कार्यसम्पादनको आधारमा यो बर्ष वडा नम्वर ७ उत्कृष्ट बन्न सफल भएको उनले जानकारी दिए ।
उत्कृष्ट बने वापत यो बर्ष वडाले थप पाँच लाख बजेट प्राप्त गर्ने पालिकाले जनाएको छ । ‘कार्यसम्पादनको आधारमा उत्कृष्ट बन्ने वडालाई प्रोत्साहन स्वरुप पाँच लाख रकम दिने भन्ने निर्णय गरेका छौँ । त्यो रकम वडाले भौतिक पूर्वाधारमा खर्च गर्नुपर्ने हुन्छ,’ पालिका अध्यक्ष मगरले भने । रकम ठूलो अंकको नभए पनि हौसला, प्रोत्साहन ठूलो कुरा भएको पालिकाले जनाएको छ ।
काम गर्ने जोश जागर बढाउँदै वडाको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उदेश्यले यो कार्यक्रम संचालन गरिएको उनले बताए । आगामी बर्षहरुमा पनि यो कार्यक्रमले निरन्तरता पाउने उनको भनाइ छ । ‘हामी समीक्षा बैठक बसेर मूल्याकंनका केही इण्डिकेटरहरुलाई पुनः मूल्यांकन पनि गर्न सक्छौँ,’ उनले भने । यो कार्यक्रमले वडाहरुलाई कार्यसम्पादनमा थप हौसला प्रदान हुने उनको अपेक्षा छ




