| मङ्लबार, कार्तिक २४, २०८३

दाउदको उपचार खर्च जुटाउन जहानै सडक निर्माणमा

शिव उप्रेती । रुकुम पश्चिमका २२ बर्षका दाउद बुढा अहिले गोरखाको न्याकफेदीमा सडक खन्ने काममा व्यस्त छन् । नेपाली सेनाले जिम्मा लिएको सो सडकको पहाड फुटाउने काममा उनीमात्र होइन, उनका बुबा नर्द बुढा, जेठा दाइ शेखर बुढा, दिदी मनमती बुढाथोकी, भिनाजु विजय बुढाथोकी सो सडकमा काम गरिरहेका छन् ।

उनीहरु बिगत तीनबर्षदेखि यस सडकमा काम गरिरहेका हुन् । दाउद १४ बर्षकै हुँदा बुबासंग काम गर्न हिडेका थिए । त्यतिबेला उनका बुबा दार्चुलाको तिंकर सडक निर्माणको काममा काम गर्दथे । तर बेस्सरी बिरामी भएपछि उनी उपचार गर्न काठमाडौँ गए । काठमाडौँले ठिक गर्न नसकेपछि फेरि उपचारका लागि इण्डिया गए ।

दिल्लीमा धेरै पटक उनको अप्रेशन पनि गरियो, तर अझैसम्म पूर्ण रुपमा ठिक भएको छैन । ‘पेटको अप्रेशन गरेर छ महिनासम्म आइसियूमा राखेर उपचार भयो । ३० लाख भन्दा धेरै त काठमाडौँमै खर्च भयो । सबैले आश मारेका थिए’, उनकी दिदी मनमती भन्छिन्, ‘काठमाडौले इण्डिया लैजानू भन्दियो । इण्डियामा पछिल्लोपल्ट अस्ति मंसीरमा पनि दुई पटक अप्रेशन भयो । त्यो पनि बिग्रियो । फेरि जेठमा बोलाएको छ । काम नगर् भनेको टेर्दैन ।’

दाउदको घाँटीमा अहिले पनि बाहिरबाट प्वाल पारेको घाउ ट्वाङ्ङ देखिन्छ । पेटको र घाँटीको असफल अप्रेशन गरे पनि दाउदलाई बिरामी जस्तो बनेर घरमा रल्लिएर बस्न मन लाग्दैन, त्यसैले बुबा, दाइ, दिदीभेनाको पछि लागेर काममा हिँडेका छन् । ‘उपचार खर्च धेरै चाहिन्छ, त्यही भएर काम गर्न आएको हो’, उनी भन्छन्, ‘बुबा र दाइको दुखले कमाएको पैसाले मात्र पुग्दैन, त्यसैले धेरथोर भए पनि सघाउ हुन्छ भनेर म पनि काममा आएको हुँ ।’

उनी यसअघि बुबाकै टिममा रहेर डोल्पा सडकमा काम गर्दथे । ‘डोल्पा सडकमा काम गर्दा पेट दुखेर मुच्र्छा परेर ढलेछु । काठमाडौँ लगेर आइसियूमा भर्ना गरेछन्’, उनी भन्छन्, ‘त्यहाँ छ महिनासम्म आइसियूमा बसेर उपचार गर्दा पनि निको भएन । इण्डिया गएर उपचार त गरेँ, तर निको भएन । अस्ति मङ्सीरमा नि दुईफेर अप्रेशन गरेको, अझै भएन । फेरि जेठमा आऊ भनेको छ’, उनले भने, ‘जेठमा इण्डिया जान खर्च धेरै चाहिन्छ, त्यसैले काम गर्न आएको हो ।’ बिरामी भएर छ बर्षसम्म काम नगरी आराम गरेर बसेको उनको भनाइ छ ।

उनका बुबाले यसअघि नेपाली सेनाले जिम्मा लिएको दार्चुला र डोल्पाको सडक निर्माणमा काम गरिसकेका छन् । अहिले बिगत तीनबर्षदेखि उनको जहान, परिबारै गोरखाको बेनिघाट, आरुघाट, लार्के सडकको काममा छन् । पहाड फुटाएर सडक खन्ने काम धेरै जोखिम हुन्छ । ‘काम गर्न भन्दा नि बिस्फोट गरेपछि माथिका ढुंगाहरु सबै धराप भएर बसेका हुन्छन् । कतिबेला खस्छ पत्तै हुदैन । त्यसबाट बच्नै गाह्रो हो’, उनले भने ।

नेपाली सेनाले तिब्बतको सीमा जोड्ने योजनाका साथ बिगत सातबर्षदेखि जोडतोडले बेनिघाट, आरुघाट, लार्के सडक निर्माणको काम गरिरहेको छ । पृथ्वीराजमार्गको बेनिघाटदेखि आरुघाट, आर्खेत, सोती हुदै हावाडाँडासम्मको ६२ किलोमिटर सडक निर्माणको काम सडक विभाग स्वयंले गरेको थियो ।

हावाडाँडाबाट माथिको खण्डमा धेरै ठूला पहाड, कडा चट्टान फुटाउनु पर्ने भएपछि विभागले सो सडक निर्माण गर्न नेपाली सेनालाई जिम्मा दिएको हो । सेनाले जिम्मा लिएपछि २०७४ सालको बैशाख १२ गतेदेखि सो सडक निर्माणको काम गरिरहेको छ ।

१५४ किलोमिटर लामो बेनिघाट, आरुघाट, लार्के सडकको हावाडाँडादेखि लार्केसम्मको करिब ९२ किलोमिटर सडक नेपाली सेनाले निर्माण गरिरहेको छ । अहिले चुमनुब्री ३ को पाङसिङसम्म गाडी चल्ने सडक बनेको छ भने न्याकफेदीसम्म ट्रयाक खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्