| मङ्लबार, कार्तिक २४, २०८३

जिसस गेटबाहिर अस्तव्यस्त पार्किङः सेवाग्राही भन्छन्, ‘गेट थुनेर सेवा दिने कस्तो तरिका हो ?’

तीनवटा कार्यालयमा सेवा लिन आउने सेवाग्राहीले प्रयोग गर्ने गरेको सवारी पार्किङ सेवा जिल्ला समन्वय समिति गोरखाले निषेध गरेको छ । निरङ्कुश भन्ने गरिएको पञ्चायती व्यवस्थाको संरचना जिल्ला पञ्चायत छँदादेखि प्रयोग गर्ने गरिएको सो खुल्ला ठाउँ लोकतान्त्रिक गणतन्त्रको संरचना बनेपछि बन्द गरिएको हो ।

जिल्ला समन्वय समितिले निर्ममता पूर्वक मुलगेट बन्द गरेपछि नापी, निर्वाचन र जिसस कार्यालयमा सेवा लिन आएका सेवाग्राही गाडी पार्किङ गर्ने ठाउँ नपाएर यत्रतत्र भौँतारिनु परेको छ । सेवाग्राहीको भीड लाग्ने कार्यालयहरुमा सेवा लिन आउने सेवाग्राही सडकमा सवारी पार्किङ गर्नु परेको गुनासो गर्ने गर्छन् ।

‘कम्पाउण्डभित्र यत्तिका कार्यालयहरु छन्, मूलगेट बन्द गरेर राख्ने यो कस्तो निरङ्कुशता हो ?’, सोमबार नापी कार्यालयमा सेवा लिन आएका दीपक क्षेत्री भन्छन्, ‘एकसाइड प्रहरीले ‘नो पार्किङ’को बोर्ड राखेको छ, अर्को साइडमा पूरै गाडी र बाइक छन् । पार्किङ नपाएर गाडी फर्काएर मेनरोडसम्म पु¥याएँ । मेनरोडमा पनि बिसौनीमोडसम्म ठाउँ पाइएन । हामी गाडी कहाँ राख्ने ? कहीँ नभएको जात्रा हाँडी गाउँमा भनेजस्तो कुनै जिल्लामा नभएको नियम गोरखामा देख्नुप¥यो ।’

विद्युत प्राधिकरणको गोरखा वितरण केन्द्रमा सेवा लिनका लागि आएका रामकृष्ण आचार्यले पनि धेरै सास्ती खेप्नु प¥यो । ‘तल जाउँ विद्युत प्राधिकरणले गेट लगाएको छ । माथि जाउँ जिल्ला समन्वय कार्यालयले गेट लगाएको छ’, आचार्य भन्छन्, ‘अल्लि उता जाउँ सिचाइ कार्यालयको गेट, उता घुमेर जाँदा प्रशासन कार्यालयको गेट त्यो भन्दा उता प्रहरीको गेट । बाइक र गाडी रोडैभरि पसारो छ । बाहिर मेनरोडमा पनि तलदेखि माथिसम्म उत्तिकै अस्तव्यस्त छ । जताततै गेट लाएर सेवा दिने गोरखाको यो कस्तो तरिका हो ?’

जिल्ला समन्वय समितिले मूलगेट बन्द गरेपछि गाडी लिएर आउने सेवाग्राही मर्कामा परेका हुन् । तर जिल्ला समन्वय अधिकारी श्रीधर पन्थीले भने आफ्नो कार्यालयको अघिको खुल्ला ठाउँ पार्किङका लागि नभएको दाबी गरेका छन् । ‘हाम्रो कार्यालय परिसर सवारी पार्किङस्थल होइन त्यसैले बन्द गरेका हौँ’, उनले भने, ‘सेवाग्राहीरुहरु बाहिर कतै पार्किङ गर्नुहुन्छ, सेवा लिनुहुन्छ अनि जानुहुन्छ ।’ हलमा कुनै कार्यक्रम गरेका बेला भने जिसस परिसर ‘पार्किङस्थल’ नभए तापनि पार्किङका लागि प्रयोग गर्न दिने गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्