| बिहिबार, कार्तिक २६, २०८३

गण्डकीमा कांग्रेसको चेतावनी : प्रदेशसभामा हुने द्वन्द्वको जिम्मेवार प्रदेश प्रमुख र मुख्यमन्त्री

नेपाली कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलले संसद् प्रदेश प्रमुखले संसद् अधिवेशन आह्वान गर्नु गैर संवैधानिक भनेको छ । बुधवार एक विज्ञप्ति जारी गरी संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यसबाट संसद्‌मा द्वन्द्व हुन सक्ने र त्यसको जिम्मेवार सम्बन्धित पक्ष नै हुन चेतावनी दिएका छन् ।

‘सम्मानित अदालतबाट भएको अन्तरिम आदेश, संविधान र विद्यमान कानुनको बेवास्ता गर्दै संसद् अधिवेशन आह्वान गर्नु असंवैधानिक कार्य हो,’ उनले भने, ‘यसप्रति गम्भीर सहमति जनाउँदै यसबाट प्रदेशसभामा द्वन्द्वको वातावरण सिर्जना हुने हुँदा यसको जिम्मेवार सम्बन्धित पक्षहरू हुने समेत स्पष्ट पार्दछौँ ।’

कांग्रेसले प्रदेशमा मुख्यमन्त्री नियुक्ति नै गैर संवैधानिक भनेको छ । गत आइतबार सभामुखलाई समेत गनेर एमाले नेता खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएका छन् । उक्त नियुक्तिमा सभामुखलाई गणना गर्न नहुने कांग्रेसको तर्क छ । नियुक्ति विरुद्ध पाण्डेले सर्वोच्चमा रिट नै दर्ता गरेका छन् । रिट उपर अदालतले ७ गते कारण देखाऊ आदेश जारी गरेको छ भने १० गते पूर्ण पेसी तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्