| मङ्लबार, कार्तिक २४, २०८३

नेपाली सेनाले दोस्रो ऐतिहासिक गोरखा–जितगढी पदयात्रा गर्ने

नेपाली सेनाले ‘दोस्रो ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदयात्रा’ सुरु गर्ने भएको छ । स्थानीय तहहरुको समन्वयमा यही चैत्र २७ गतेबाट पदयात्रा सुरु गर्न लागिएको रिपुमर्दन गणले जनाएको छ ।गोरखाबाट सुरु हुने पदयात्रा तनहुँ, पाल्पा हुदैँ जितगढी पुगेर समापन हुने गणपति अशोककुमार क्षेत्रीले बताए ।

उनका अनुसार यात्रामा अधिकृतको कमाण्डमा ४८ जना सेना सहभागी हुनेछन् । ‘पृथ्वीनारायण शाहले तत्कालीन समयमा खडा गरेका पाँच पल्टन (पुरानो गोरख, कालीबक्स, बर्दवाणी, सवुज र श्रीनाथ) र जितगढीको लडाईमा भाग लिएका गुरुबक्स पल्टनका टोली सहभागी हुन्छन्,’ उनले भने, ‘आ–आफ्नो पल्टनको झण्डासहित उनीहरु यात्रामा निस्कन्छन् ।’ गोरखाको टोली पालुङटारको सतिघाट पुगेर तनहूँलाई हस्तान्तरण गर्ने र तनहूँले पाल्पालाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए ।

‘पाल्पाले रुपन्देहीलाई बुझाउँछ र रुपन्देहीको टोली जितगढीमा पुगेर बिजय उत्सवमा सहभागी हुन्छ,’ गणपति क्षेत्रीले भने । उनका अनुसार नेपाल र तत्कालीन ब्रिटिस इस्ट इण्डिया कम्पनी बीच भएको लडाइँमा बिजय प्राप्त गरेको दिन (बैशाख ७ गते) लाई बिजय उत्सवको रुपमा मनाउँदै आइएको छ । सोही उत्सवमा सहभागी हुने गरी पदयात्रा सुरु गर्न लागिएको बताइएको छ । चैत्र २७ गते औपचारिक कार्यक्रम गरी गोरखा दरवारबाट पदयात्रा सुरु हुने गणपती क्षेत्रीले बताए ।

११ दिनको दिनमा जितगढीसम्मको दुईसय सात किलोमिटर दुरी पार हुने उनले जानकारी दिए । ऐतिहासिक कोट, गढी, किल्लाहरुको संरक्षण गर्दै इतिहास जोगाउने लक्ष्यका साथ गत बर्षबाट पदयात्रा गर्न थालिएको उनले बताए । यात्रामा सहभागीलाई हरेक स्थानीय तह र जिल्लाको सिमानामा जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुखहरु सहितको उपस्थितिमा बिदाई गरिने बताइएको छ ।

बाजागाजा सहित सहभागीलाई स्वागत र बिदाई गर्ने गरी स्थानीयतहसँगको समन्वय भईरहेको नेपाली सेनाले जनाएको छ । यो यात्राले गोरखादेखि जितगढीसम्म पर्यटन प्रर्वद्धनमा पनि मद्धत पुग्ने अपेक्षा गरिएको छ । पदयात्राको बिषयमा गत सोमवार सरोकारवालाबीच छलफल समेत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्