
गोरखामा भूमि आयोगकाे प्रगति : धार्चेमा लालपुर्जा वितरणकाे तयारी, सिरानचाेक र अजिरकाेटमा लगत संकलन प्रविष्टि हुन बाँकी
धार्चे गाउँपालिकाका भूमिहीनहरुलाई जग्गाको लालपूर्जा वितरणको अन्तिम तयारी भएको राष्ट्रिय भूमि आयोग जिल्ला समिति गोरखाले जनाएको छ । शुक्रवार पत्रकार सम्मेलन मार्फत आफ्नो प्रगति विवरण सार्वजनिक गर्दै आयोगले धार्चेका आठ घरपरिवारलाई जग्गा वितरणका लागी नाप नक्साको काम सम्पन्न भइसकेको जनाएको छ । आयोगका अनुसार कुल १३ घरपरिवारको निवेदन परेपनि आठ घरपरिवारलाई मात्र जग्गा उपलब्ध गराउन लागिएको आयोगकी जिल्ला अध्यक्ष कमला नहर्कीले बताइन् । ‘चार घरपरिवारको छुट दर्तामा जग्गा पत्ता लागेको छ,’ उनले भनिन्, ‘एक घरपरिवारको आवश्यक कागजात नपुगेर प्रक्रिया अगाडि बढाउन सकेनौ ।’
भिमसेन थापा, बारपाक सुलिकोट र गण्डकी गाउँपालिकामा १/२ दिन भित्र नाप नक्साको काम शुरु हुने उनले जानकारी दिइन् । उनका अनुसार शहीदलखन गाउँपालिकाले नाप नक्साको काम अघि बढाउन १५ दिने सूचना जारी गरिसकेको छ । आरुघाट गाउँपालिका, गोरखा र पालुङटार नगरपालिका स्थानीय सहजिकरण समिति र कार्यपालिकाबाट प्रमाणिकरण गरेर पठाउने तयारीमा छ । जिल्लाकै बिकट मानिने चुमनुव्री गाउँपालिकामा लगत संकलन र प्रविष्टिको काम भइरहेको आयोगले जनाएको छ । मनास्लु संरक्षण क्षेत्र अन्तरगत पर्ने भएकाले पनि केही समस्या भएको बताइएको छ । यता सिरानचोक र अजिरकोटमा भने लगत संकलन प्रणालीमा प्रविष्टि हुन बाँकी रहेको आयोगले जनाएको छ ।
आयोगले सबै स्थानिय तहमा सुकुम्वासी तथा अव्यवस्थित बसोबास सेवा केन्द्र संचालन गरेर जग्गा वितरण तथा व्यवस्थापनको काम अगाडी बढाउँदै आएको छ । भूमिहिन दलित र भूमिहिन सुकुम्वासीहरुलाई जग्गा उपलब्ध गर्न तथा अव्यवस्थित बसोबासलाई व्यवस्थापन गर्न गठन गरिएको आयोगले जिल्लाको सबै स्थानिय तहहरुसँग समन्वय गरेर आफ्नो काम कारवाही अघि बढाउँदै आएको छ । आयोगको तथ्याङ्क अनुसार जिल्लामा अव्यवस्थित बसोबास गर्ने घरपरिवारको संख्या ३ हजार ५५६ रहेको छ । त्यस्तै भूमिहिन दलितको संख्या १८५ र भूमिहिन सुकुम्बासीको संख्या १५७ रहेको छ ।
आवासका लागी प्रति व्यक्ति साढेँ दश आना जग्गा उपलब्ध गराउने आयोगले जनाएको छ । त्यस्तै कृषि प्रयोजनका लागी ५ रोपनी १४ आना जग्गा उपलब्ध गराइने बताइएको छ । लाभग्राहीले कृषि वा आवासमध्ये एउटा सुविधा मात्र लिन मिल्ने आयोग गोरखाका सदस्य सचिव भरतराज खनालले बताए ।




