| बुधबार, कार्तिक २५, २०८३

गोरखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको व्यवहारप्रति जनप्रतिनिधिको आपत्ति : नसच्चिए पुनः तालाबन्दीको चेतावनी

गोरखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीको व्यवहारप्रति नगर उपप्रमुखसहित कांग्रेस निकट नगर सभा सदस्यहरुले आपत्ति जनाएका छन् । फागुन २४ गतेको नगर सभाको सन्दर्भलाई जोड्दै उनीहरुले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृतले पार्टीको कार्यकर्ताको व्यवहार गरेको आरोप लगाए ।

वुधवार पत्रकार सम्मेलन गर्दै उनीहरुले आगामी दिनमा पनि यस्तै व्यवहार दोहो¥याए प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा पुनः ताला लगाउने चेतावनी दिएका छन् । ‘प्रमुख प्रशासकीय अधिकृतले दुई पक्ष बीचको विवाद मिलाउन समन्वयकारी भूमिका खेल्नुपर्ने हो तर उहाँ पार्टीको कार्यकर्ता जस्तो बनेर बिभेद गर्नुभयो,’ नगर उपप्रमुख मसलीमाया थोकरले भनिन्, ‘चित्तबुझ्दो ढंगले आगामि दिनमा समन्वयकारी भूमिका निर्वाह नगरे पुनः तालावन्दी गर्छाैँ ।’

तालाबन्दीको बिषयलाई लिएर प्रमुख प्रशासकीय अधिकृत सुवेदीले झुठ बोलेकोसमेत उपप्रमुख थोकरको आरोप छ । ‘हाम्रै पार्टीको सभापतिसँग फोन सम्वादमा उनले आत्मालोचना गर्दै आगामी दिनमा समन्वय गरेर अघि बढ्ने बताएका थिए । मसँग पनि त्यही कुरा भएको थियो,’ उनले भनिन्, ‘त्यही भएर हामीले ताला खोल्यौँ तर पछि मैले गल्ती पनि गरेको छैन, आत्मालोचना पनि गरेकै छैन भनेर झुठ बोल्नुभयो ।’ आफ्नो पदीय जिम्मेवारीमा बस्न उनीहरुले प्रमुख प्रशासकीय अधिकृत सुवेदीलाई सचेत समेत गराएका छन् ।

फागुन २४ गतेको नगरसभामा भएको विवादमा प्रमुख प्रशासकीय अधिकृतले बिभेदपूर्ण व्यवहार गरेको भन्दै उनीहरुले सुवेदीको कार्यकक्षमा ताला लगाएका थिए । त्यसको चारदिनपछि फागुन २८ गते उनीहरु आफैले ताला खोलेका थिए । तर यही बिषयलाई माओवादीका कार्यकर्ताले अतिरञ्जित पार्न खोजेको भन्दै नगरसभा सदस्यहरुले आपत्ति समेत जनाएका छन् । ‘प्रमुख प्रशासकीय अधिकृतले आत्मालोचना गर्दै भावी दिनमा पुरै सुध्रिएर जाने प्रतिवद्धता जनाएपछि हामीले फागुन २८ गते बिहान दशबजे नै ताला खोल्यौँ ।

तर माओवादी कार्यकर्ताले मेयर र प्रमुख प्रशासकीय अधिकृतले गरेको कमीकमजोरीलाई सुधार्न लगाउनुको साँटो ढाकछोप गर्ने प्रपञ्च रचे’, उनीहरुले जारी गरेको प्रेस बक्तव्यमा भनिएको छ, ‘ताला खोलिसकेपछि गोरखा नगरपालिकाको कार्यालयमा जम्मा भएका असम्बन्धित व्यक्तिहरुको जत्थाले नगरपालिकाका कर्मचारीहरुको चरित्र हत्या गर्दै आतंकित र निरुत्साहित गर्ने समस्यालाई समाधानतर्फ लानुको सट्टा अतिरञ्जित गर्दै उत्तेजित पार्ने हर्कत गरिएको छ । हामी त्यसको हामी घोर आपत्तिका साथ भत्र्सना गर्दछौ ।’ जत्था र हुलले नगरपालिका संचालन गर्छु भन्ने नगर प्रमुखको नियत रहेको भन्दै उनीहरुले त्यसप्रति पनि खेद प्रकट गरेका छन् ।

उनीहरुले पुनः नगर सभा गर्न माग समेत गरेका छन् । गत फागुन २४ गतेको नगरसभामा प्रस्तुत कार्यसूचीमाथि नगरसभा सदस्यहरुलाई छलफल गर्न नदिएको भन्दै उनीहरुको बिरोध जनाउँदै आएका हुन् । नगरसभा सदस्यहरुको अधिकार हनन् गर्दै राणाशासनको शैलीमा मेयरले नगर सभा सम्पन्न गरेको र त्यसमा प्रमुख प्रशासकीय अधिकृतले पनि साथ दिएको उनीहरुको आरोप छ । आगामी दिनमा प्रमुख प्रशासकीय अधिकृत सच्चिएर जानुपर्ने उनीहरुले आग्रह छ । सम्वाद, सहमति र सहकार्यका लागि आफूहरु सधै तयार रहेको समेत उनीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्