
थापाको राजनीतिक यात्रा : उपसचिव बनेको २८ बर्षपछि जिल्ला अध्यक्ष
भर्खरै निर्वाचित भएका नेकपा एमाले गोरखाका अध्यक्ष सुरेन्द्रबहादुर थापाको राजनीतिक यात्रा रोचक र मार्मिक छ । जिल्ला कमिटीको पहिलो अधिवेशनमा पार्टीको उपसचिव बनेको २८ बर्षपछि उनी जिल्ला अध्यक्ष बन्न सफल भएका छन् ।
त्यतिबेला पार्टीको सचिवको नेतृत्वमा जिल्ला कमिटी हुन्थ्यो, उनी दोस्रो वरियता अर्थात उपसचिव थिए । धेरै हण्डर ठक्कर खाएर पनि बिचलित नभै लामो प्रतीक्षा गर्न सक्यो भने बल्ल नेतृत्व तहमा पुग्न सकिन्छ भन्ने पाठ उनको राजनीतिक यात्राबाट पाउन सकिन्छ ।
सहिद लखन गाउँपालिका–९ नाम्जुङमा जन्मेका थापाले चार कक्षासम्मको प्रारम्भिक शिक्षा घरमै पूरा गरे । सात कक्षासम्म काठमाडौँमा पढेर गोरखा फर्केका उनले सदरमुकामस्थित पाटेचौरमा रहेको शक्ति माविमा आफ्नो अध्ययनलाई अघि बढाए ।
२०३६ सालको स्ववियू निर्वाचनमा थापा नेपाल राष्ट्रिय विद्यार्थी फेडेरेशनबाट सहसचिवमा निर्वाचित भए ।
कृष्णबहादुर मानन्धरको नेतृत्वको बामपन्थी आन्दोलनको एउटा शक्तिको रुपमा फेडेरेशन रहेको थियो । त्यसयता उनी बामपन्थी आन्दोलनमा जोडिदै गए । २०३७ सालमा उनी शिक्षक संगठनमा पनि जोडिए । २०५२ मा शिक्षक पेशाबाट राजीनामा दिएर उनी पूर्णकालिन राजनीतिक कार्यकर्ताको रुपमा सक्रिय भए । २०४७ सालमा गोरखामा स्थापना भएको नेकपा एमालेले २०५२ सालमा पहिलो जिल्ला अधिवेशन ग¥यो । अधिवेशनबाट थापा उपसचिव बने ।
‘त्यसअघि म मालेमा सम्वद्ध थिए, माक्सवादी र माले मिलेर एमाले बन्यो, ऋषि कट्टेलको नेतृत्वमा नेकपा एमाले बन्यो,’ थापाले भने, ‘कट्टेल सचिव र म उपसचिव भएँ । त्यो बेला अध्यक्ष भन्ने हुन्थेन ।’२०५४ सालमा पार्टी बिभाजन भयो । त्यो बेला थापा मालेमा गए । स्वतन्त्र रुपमा उठेर नाम्जुङको गाविस अध्यक्षमा निर्वाचित भएका त्यो पद छाडेर २०५४ सालकै संसदको चुनावमा गोरखा निर्वाचन क्षेत्र नम्वर १ बाट मालेतर्फबाट चुनाव लडे । त्यस बेला एमालेबाट रामशरण बस्नेत र कांग्रेसबाट चिरञ्जिवी वाग्ले चुनाव लडेका थिए ।
२०५६ सालमा बामदेव गौतमले पार्टी एकीकरण गरे । एकीकरण हुँदा थापाले संगठन बिभाग प्रमुखको जिम्मेवारी मात्र पाए । त्यसयता अञ्चल सदस्य, राष्ट्रिय प्रतिनिधि परिषदको सदस्य हुदैँ प्रदेश कमिटि सचिवालय सदस्य समेत बने । केही समयअघि मात्र भएको पार्टीको गण्डकी प्रदेश अधिवेशनबाट उनी बिधान महाधिवेशन प्रतिनिधि बने । आइतवार सम्पन्न पार्टीको ८ औ जिल्ला अधिवेशनबाट उनी अध्यक्ष पदमा निर्वाचित भएका छन् ।
पार्टीको संगठन सुदृढिकरण र जनताका मुद्धाहरुलाई आफूले प्राथमिकता दिने उनले बताएका छन् । दरौदी पत्रिकासँग कुराकानी गर्दै उनले पार्टीको मात्र नभई जनता र राष्ट्रका मुद्धाहरुमा पनि चासो दिने बताए । ‘एमालेले गोरखामा ३३ वटा गाविस जितेको इतिहास पनि छ, तर त्यो बिरासत जोगाउन सकेन एमालेले,’ उनले भने, ‘जिल्लामा जुन ढंगले पार्टी बनेको छैन, त्यो बनाउन समस्याको पहिचान गर्दै अघि बढ्छु ।’ जिल्लाका अन्य राजनीतिक दलहरुसँग पनि समन्वय गरेर जिल्लामा भएका अनियमितता बिरुद्ध आवाज उठाउने उनले बताए ।




