
धार्चे गाँउपालिकाको स्थापना दिवसमा बिभिन्न व्यक्तिहरु सम्मानित
धार्चे गाँउपालिकाले बिभिन्न क्षेत्रमा योगदान पु¥याएका पालिकाका व्यक्तिहरुलाई सम्मान गरेको छ । स्थापना दिवसको अवसर पारेर आइतवार एक कार्यक्रमका बीच १७ जना व्यक्तिहरुलाई सम्मान गरिएको पालिकाले जनाएको छ ।
सम्मानित हुनेहरुमा इमान गुरुङ, नानुमाया गुरुङ, मुलाल गुरुङ, तुलसिङ गुरुङ, पुरबहादुर गुरुङ, सुमन गुरुङ, बिसबहादुर गुरुङ, रामबहादुर गुरुङ, सन्दिप गुरुङ र ओमबहादुर गुरुङ र बिशबहादुर गुरुङ रहेका छन् । बिश्वकै अग्लो हिमाल सगरमाथा र मनास्लु हिमालको सफल आरोहण गर्न सफल भएकाले उनीहरुलाई सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले बताए ।
इमान गुरुङले धार्चेको लोगो सहित सगरमाथाको सफल आरोहण गरेका थिए । उनलाई नगद ६० हजार सहित दोसल्ला ओडाएर सम्मान गरिएको छ । त्यस्तै धार्चेको लोगो सहित मनासलु हिमालको सफल आरोहण गरेकी नानुमाया र सगरमाथाको सफल आरोहण गरेका अन्यलाई नगद ४० हजारको साथमा दोसल्ला ओडाएर सम्मान गरिएको पालिकाले जनाएको छ ।
त्यस्तै गाउँपालिकाबाट पहिलो पटक एसएलसी उर्तिण गर्ने इन्द्र घले, गायक सर्जक धनबहादुर गुरुङ र धार्चेको पहिलो सुचिकृत पत्रकार केशव गुरुङ पनि सम्मानित भएका छन् । गाउँपालिकाबाट २०७९ सालको एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउन सफल खुश्वु गुरुङ र पालिकाबाट २०७९ को एसईई परिक्षामा समग्रमा उत्कृष्ट नजिता ल्याउन सफल केरौजा माध्यमिक बिद्यालयलाई पनि पालिकाले सम्मान गरेको छ । खुश्वुलाई नगद दश हजार र केरौजा माविलाई नगद ५० हजार सहित सम्मान गरिएको बताइएको छ । बर्षको उत्कृष्ट कर्मचारीको रुपमा असिम गुरुङ सम्मानित भएका छन् । उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै पालिकाले उनलाई नगद दश हजार सहित सम्मान गरेको हो ।
स्थापना दिवसको अवसरमा खोर्लावेशी र माछीखोला बजार क्षेत्रमा सरसफाई समेत गरिएको पालिकाले जनाएको छ । फोहोर व्यवस्थापनका लागी बिभिन्न ठाउँमा डस्टविन समेत राखिएको बताइएको छ । गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख मोहनबहादुर थापाको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुनार, हिमाल आरोही तुलसिङ गुरुङ लगायतले मन्तव्य राखेका थिए ।




