| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका चार हिमाल आरोही महिलाहरु सम्मानित

प्रतीक्षा आले मगर :


गोरखाका चारजना हिमाल आरोही महिला सम्मानित भएका छन् । ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर गण्डकी प्रदेश सरकारले दुईजनालाई साहासिक महिला शीर्षकमा र दुई जनालाई पर्वतारोही महिला शीर्षकमा सम्मान गरेको हो ।


गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले फुञ्जो झाङ्मु लामा र पुर्णिमा श्रेष्ठलाई साहासिक महिला शीर्षकमा सम्मान गरेको हो । त्यस्तै नानुमाया गुरुङ र डिकी ल्हामु लामालाई पर्वतारोही महिला शीर्षकमा सम्मान गरेको हो ।


चुमनुव्री गाउँपालिका–७ छेकम्पारकी फुन्जो झाङमु लामा सबैभन्दा छिटो सगरमाथा आरोहण गरेर गिनिजबुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता गर्न सफल महिला हुन् । आठहजार मिटर भन्दा अग्ला सगरमाथा, चोयू र मनास्लु आरोहण गर्ने उनी उनी लङलाइन रेस्क्यूअर तथा स्की च्याम्पियन पनि हुन् । उनी यसअघि एडमण्ड हिलारी एवार्डबाट पनि सम्मानित भएकी थिइन् । नेपाल सरकारले उनलाई स्वीजरल्याण्डका लागि पर्यटन सद्भावना दूत घोषणा गरेको छ ।


आरुघाट गाउँपालिका वडा नम्वर ९ की पूर्णिमा श्रेष्ठ आठ हजारभन्दा अग्ला आठ वटा हिमाल आरोहण गर्न सफल महिला हुन् । उनी फोटो पत्रकारसमेत हुन् ।


चुमनुव्री–१ सामागाँउकी डिकी ल्हामु लामा र धार्चे गाउँपालिका वडा नम्वर ५ गुम्दाकी नानुमाया गुरुङलाई पनि गण्डकी प्रदेश सरकारले पर्वतारोही महिला शीर्षकमा सम्मान गरेको छ । गुरुङले आठहजार मिटरभन्दा अग्लो सगरमाथा र मनास्लु हिमाल आरोहण गरेकी छिन् भने लामाले आठ हजार मिटरभन्दा अग्लो मनास्लु आरोहण गरेकी छन् ।


उनीहरुलाई प्रदेश सरकारले जनही नगद ५० हजारसहित कदरपत्रले सम्मान गरेको हो ।


दिवसको अवसरमा उनीहरुसहित गण्डकी प्रदेशका १६ जना महिला सम्मानित भएका छन् । कार्यक्रमकै अवसरमा गोरखाको सिर्जनशील महिला बचत तथा ऋण सहकारीलाई पनि सम्मान गरिएको छ । उत्कृष्ट महिला सहकारीको रुपमा उक्त संस्थासहित सात जिल्लाका बिभिन्न महिला सहकारीलाई सम्मान गरिएको मन्त्रालयले जनाएको छ । हरेक सहकारीलाई ७५ हजार नगदसहित सम्मानपत्र प्रदान गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्