
सडक नभएको ठाउँमा पुल बनाएको आरोपमा मुद्दा खेपेका तीन कर्मचारीलाई सफाइ
गोरखामा सडक नै नभएको ठाउँमा पुल हालेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेका तीन कर्मचारीले विशेष अदालतबाट सफाइ पाएका छन् । गण्डकी प्रदेशको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका तत्कालीन सचिव ईश्वरचन्द्र मरहट्टा, प्रदेश सडक निर्देशनालयका तत्कालीन निमित्त निर्देशक रामकुमार श्रेष्ठ र पूर्वाधार विकास कार्यालय गोरखाका सिनियर डिभिजनल इन्जिनियर ओमराज ढुंगानाले मंगलबार सफाइ पाएका हुन् ।
गोरखा नगरपालिकाको वडा नम्बर ३ र सिरानचोक गाउँपालिका–५ जोड्ने जरेवरस्थित दरौँदी खोलामा बद्नियतपूर्वक पुल हालिएको अभियोगमा उनीहरुमाथि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सडक नै नभएको ठाउँमा ५ करोड ३९ लाखमा निर्माण गरिएको ५० मिटर लामो पुल बनाइएको अभियोगमा अख्तियारले राज्यको सम्पत्तिको दुरुपयोग गरेको आरोप लगाएको थियो ।
काल्पनिक डीपीआर बनाएर पुलको स्थान र डिजाइनसमेत परिवर्तन गरी कानुनबिपरीत पुल हालिएको भन्दै अख्तियारले गत साल फागुनमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
उनीहरुले ५ करोड ४५ लाख ५२ हजार रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारले आरोप थियो । राज्यको सम्पत्ति औचित्य नभएको स्थानमा खर्च गर्न आफ्नो ओहोदाको दुरुपयोग गरेर भ्रष्टाचार गरेको भन्दै ५ करोड ४५ लाख बिगो कायम गरी कैद र जरिवानासहित हानी नोक्सानी भएको बिगो सचिव मरहट्टाबाट असुल उपर गर्न अख्तियारले मागदाबी गरेको थियो ।
निमित्त निर्देशक श्रेष्ठमाथि गुरुयोजना, ग्रामीण सडक, शहरी सडक वा कुनै रणनीतिक सडकमा नपर्ने काल्पनिक सडकको नाम दिई खोलामा पुल बनाएको भन्दै ५ लाख ७१ हजार विगो मागदाबी गरेको थियो । त्यस्तै सिनियर डिभिजन इन्जिनियर ढुंगानामाथि बदनियतपूर्वक गुरुयोजना बनाएको आरोप अख्तियारले लगाएको थियो ।




