
नयाँ पुस्तालाई ज्ञान र सीप बाँड्दै जेष्ठ नागरिक
गोरखा नगरपालिका–१२ कुन्दुरटारस्थित महेन्द्र माध्यमिक बिद्यालयमा जेष्ठ नागरिकमा रहेको ज्ञान, सीप र अनुभव अन्तर पुस्ता हस्तान्तरण कार्यक्रम भएको छ । जेष्ठ नागरिक जिल्ला संघ गोरखाको आयोजना, सामाजिक विकास कार्यालयको सहयोग र विद्यालयको संयोजनमा कार्यक्रम भएको हो ।
मंगलवार भएको कार्यक्रममा ११ जना जेष्ठ नागरिकहरु सम्मानित भएका छन् । सम्मानित हुनेमा ९० बर्षका मानबहादुर नेपाली, हुममाया बिक, चुडाकुमारी मरहट्टा, गोरबहादुर कुमाल, जगुमाया कुमाल, शिवलक्ष्मी बिक, कृष्णजी अर्याल, तीर्थराज अर्याल, घनप्रसाद अर्याल, बलदीप कुमाल र मायादेवी अर्याल रहेका छन् । दोसल्ला ओडाएर उनीहरुलाई सम्मान गरिएको संघले जनाएको छ ।
बिद्यालयका कक्षा ११ र १२ का बिद्यार्थी सहभागी उक्त कार्यक्रममा जेष्ठ नागरिकहरुले आफ्ना अनुभवहरु आदान प्रदान गरेका थिए । सहभागी बिद्यार्थीहरुले जेष्ठ नागरिकको कानूनी व्यवस्था लगायतका बारेमा जिज्ञासा राखेका थिए । सामाजिक बिकास कार्यालयका प्रमुख दिपेन्द्र परियार, जेष्ठ नागरिक संघका जिल्ला अध्यक्ष मोहनलाल श्रेष्ठ र बिद्यालयका प्रधानाध्यापक गोपालबाबु मरहट्टाले सहजिकरण गरेका थिए । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख मोहनबहादुर थापाको प्रमुख अतिथ्यता रहेको थियो ।




