| मङ्लबार, कार्तिक २४, २०८३

स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा बारपाक सुलिकोट उत्कृष्ट

प्रतीक्षा आले मगर :


संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (एफआरए)को नतिजा सार्वजनिक भएको छ । मुल्याङ्कनको नतिजामा गोरखाका स्थानीय तहहरुमध्य बारपाक सुलिकोट प्रथम भएको छ ।
१०० पूर्णाङ्कमा गरिएको मूल्यांकनमा सो पालिकाले ८७.५ अंक प्राप्त गरेको हो । यस्तै, ८०.५ अङ्क प्राप्त गरी गण्डकी गाउँपालिका स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा दोस्रो बनेको छ ।

मूल्याङ्कनमा, अजिरकोट र शहिद लखनले बराबर ७५.५ अंक प्राप्त गरेका छन् । भीमसेन थापाले ७५, सिरानचोकले ७०, आरुघाट गाउँपालिकाले ६६.५ अंक प्राप्त गरेका छन् । मूल्याङ्कनमा सबै भन्दा कम अंक उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाले प्राप्त गरेको छ । उक्त पलिकाले स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा ५० अंक प्राप्त गरेको हो ।

स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा गोरखाका दुई नगरपालिकाहरु गोरखा नगरपालिका र पालुङटार नगरपालिकाको नतिजा पनि तुलनात्मक रुपमा कमजोर देखिएको छ । मूल्याङ्कनमा गोरखा नगरपालिकाले ६६ र पालुङटार नगरपलिकाले ५७ अंक प्राप्त गरेको मन्त्रालयको विवरणमा उल्लेख छ ।
विवरणमा धार्चे गाउँपालिकाको नतिजा भने सार्वजनिक भएको छैन ।

जिल्ला समन्वय समितिले नतिजा सार्वजनिक गर्न ढिला गरेकाले पालिकाको एफआरए नआएको धार्चेका प्रमुख प्रसाशकीय अधिकृत काजीमान सुनारले बताए । १०० नम्बरको मूल्याङ्कनमा यस पटक उच्चतम ९९ र न्यूनतम १६ अंक दिइएको छ । पालिकाहरूलाई योजना बजेट तथा कार्यक्रम व्यवस्थापनमा २१ अंक, कार्यान्वयन क्षमता तथा व्यवस्थापनमा २९ अंक, लेखांकन तथा प्रतिवेदनमा १७ अंक, अनुगमन मूल्याङ्कन तथा लेखापरीक्षणमा १६ अंक र राजश्व व्यवस्थापनमा १७ अंक गरी १०० अंक पूर्णाङ्क तोकिएको थियो ।

स्थानीय तहमा अनियमितता हुने गरेको गुनासा पहिचान गर्न यो मूल्याङ्कन पद्धति अपनाइएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एफआरएभित्र नपरेका स्थानीय तहहरुको हकमा समानीकरण हुने बजेट तलमाथि पर्ने जनाएको छ । जिल्ला समन्वय समितिमार्फत हरेक वर्ष मन्त्रालयले एफआए गर्दै आएको छ । यो वर्ष ५८१ वटा पालिकाको मात्र एफआरएको नतिजा प्रकाशन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्