
प्रोक लघु जलविद्युत योजनाको उद्घाटन, घरघरमा विजुली बाल्न पाएपछि धुमधामले नाचगान
घरघरमा विजुली बाल्न पाएपछि चुमनुब्री ४ प्रोकका फुर्बु ग्याल्जेन लामा खुशीले मग्नमस्त छन् । विजुलीको उद्घाटनका दिनमा आयोजित समारोहमा फुर्बुग्याल्जेन मात्र होइन, सबै गाउँले खुशीले धुमधामले नाचगान गरे ।
बत्ती बाल्न मात्र नभै घरमै मोबाइल चार्ज गर्न पाइएको भन्दै उनीहरुले खुशीयाली मनाएका हुन् । ‘सानो सानो सोलारको पाता त थियो, तर बादल लागेपछि कि टुकी बाल्नु पथ्र्यो, कि दाउरा बालेर उज्यालो बनाउनुपथ्र्यो’, उनी भन्छन्, ‘अब अँध्यारोमा बस्नु पर्ने दिन गयो । बिजुली पाएपछि त खाना पकाउन, चिया पकाउन, पानी तताउन पनि सजिलो भयो ।’ घरघरमा विजुली जोडेपछि गाउँलेको जीवन नै बदलिएको उनले बताए ।
यसअघि मोबाइल चार्ज गर्न पनि एकघण्टाको बाटो हिँडेर टाढा जानु पथ्र्यो । ‘आफ्नै घरमा लाइन जोडेपछि अब त मोबाइल पनि आफ्नै घरमा चार्ज गर्न पाइयो’, अर्का स्थानीय छिमी रिग्जिन लामा भन्छन्, ‘घरघरमा विजुलीको लाइन जोडेपछि पिठो पिस्ने मिल पनि गाउँमै हुने भयो । मकै, गहुँ बोकेर घट्टा जान परेन । मकै छोडाउने मेसिन पनि घरघरमै हुने भयो । कति सजिलो भयो ।’ खाना बनाउन भीरपाखामा दाउरा संगाल्न जानुपर्ने बाध्यता पनि अब हटेको भन्दै गाउँले खुशी भएका उनले बताए ।


ब्रिटिश दातृसंस्था कादुरी एग्रिकल्चरल एड एशोसिएशनले चुमनुब्री ४ साविक प्रोक गाविसका सबै गाउँटोल र बिही गाविसका दुई टोलमा सेवा दिने गरी प्रोक लघु जलविद्युत आयोजना निर्माण सम्पन्न गरेर बुधबार उद्घाटन गरेको छ ।

सो योजनाले यसअघि टुकी र दाउराको मात्र प्रयोग गरेर जीविका चलाएका २५० घरधुरीले विजुली बत्तीको सेवा पाएका वडाअध्यक्ष पेमा ग्याल्बो लामाले जानकारी दिए । ‘कादुरीले ८० किलोवाट क्षमताको जलविद्युत उत्पादन गरेको छ’, वडाअध्यक्ष लामाले भने, ‘यसबाट वडा नं. ४ को प्रोक, गप, क्वाक, छाक र वडा नं. ५, साविक बिही गाविसको बुर र बन्दुरका गरी ३१४ घरधुरीका १३ सय ३३ जनसंख्या लाभान्वित भएका छन् । प्रोकमाचाहिँ यसअघि एमक्यापले उत्पादन गरेको सानो क्षमताको विद्युत थियो, तर यसअघि विजुलीबत्ती नपुगेका गप, क्वाक, छाक, बुर र बन्दुरका २५० घरधुरीका बासिन्दालेचाहिँ बल्ल विजुलीबत्ती बाल्न पाएका हुन् ।’

घरघरमा विद्युत लाइन जोड्न पाउँदा गाउँले धेरै खुशी भएका उनले जानकारी दिए ।
उद्घाटन समारोहमा बोल्दै कादुरीका निर्देशक कर्णेल एन्ड्र मिल्सले दुर्गम गाउँका बासिन्दालाई सेवा गर्न पाएकामा अत्यन्त खुशी लागेको बताएका थिए । सेवा गर्ने अवसर पाएमा अझै विभिन्न खालका सहयोग गर्न तत्पर रहेको उनले बताएका थिए ।

गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले दुर्गम भेगका बासिन्दालाई अत्यन्त खाँचो परेको विजुली, पुल तथा खानेपानीका क्षेत्रमा सहयोग गर्ने कादुरी संस्थालाई ‘चुमनुब्रीको उज्यालो’को संज्ञा दिइन् । कादुरीले चुमनुब्रीका बासिन्दा र आफ्नो गाउँलेलाई बिर्सनै नसक्ने गुन लगाएको भन्दै वडाअध्यक्ष पेमा ग्याल्बो लामाले कृतज्ञता प्रकट गरेका थिए ।
उपभोक्ता समितिका सचिव निमा ग्याल्बो लामाले ‘कादुरी संस्था चुमनुब्रीका बासिन्दाको मनमनमा बसेको छ’, भन्दै प्रसंसा गरे ।

चुमनुब्री ४ को दामदग खोलामा कूल ६ करोड ९१ लाख ४१ हजार ९५९ रुपैयाँ लागतमा कादुरीले ८० किलोवाट क्षमताको विद्युत उत्पादन गरेर वितरण गरेको हो । केन्द्रीय प्रशारणको लाइन नपुगेको चुमनुब्री गाउँपालिकाको सातैवटा वडाका सबै टोलमासो संस्थाले यसअघि लघु जलविद्युत उत्पादन गरेर वितरण गरिसकेको छ ।

तस्वीरहरु : पेमा ग्याल्बो लामा ।




