
प्रहरी कार्यालयमा सर्वसाधारणको सहज पहुँच बनाउँछौ : एसपी पाठक
जिल्ला प्रहरी कार्यालयमा सर्वसाधारणको पहुँच सहज बनाउने जिल्ला प्रहरी प्रमुख एसपी बासुदेव पाठकले बताएका छन् । केही दिनअघि मात्र गोरखा सरुवा भई आएका उनले आइतवार जिल्लाका पत्रकारसँग भेटघाट गर्दै आफ्नो कार्यकालमा न्यायमा सहज पहुँच बनाउन पहल गर्ने बताएका हुन् । ‘न्याय पाउनलाई आम नागरिकले कुनै बिचौलियाको मद्दत लिन नपरोस्,’ उनले भने, ‘सिधै कार्यालयमा आएर सेवाग्राहीले सेवा लिन सकुन् भन्ने हो ।’ यसका लागि आफूले सक्दो प्रयास गर्ने उनले बताए ।
जिल्लाको शान्ति सुरक्षा कायम गर्न पत्रकार र प्रहरी बीच आपसी समन्वय र सहकार्य हुनुपर्ने भन्दै उनले आवश्यक सहयोग गर्न आग्रह समेत गरे । ‘पत्रकार र प्रहरीको सम्बन्ध भनेको नङ र मासुको जस्तै हो, त्यसैले एक आपसमा व्यवसायिक सम्बन्ध बढाउँदै जानुपर्छ,’ उनले भने । साथै उनले गोरखा पहाडी जिल्ला भएकाले तराईका जिल्लाजत्तिको उच्च सुरक्षा चुनौति नभएको भन्दै रचनात्मक कार्य गर्ने बताए ।
‘तराईका जिल्लामा तुलनात्मक रुपमा बढि नै सुरक्षा चुनौति हुन्छ । प्रहरीको अधिक समय सुरक्षा व्यवस्थामै बित्छ । तर गोरखा पहाडी जिल्ला भएकाले त्यति धेरै सुरक्षा चुनौतिक नहोला । बिगतको अभ्यास हेर्दा पनि त्यस्तो देखिँदैन’, एसपी पाठकले भने, ‘त्यसैले हामी अन्य रचनात्मक काममा हाम्रो समय बढि खर्च गर्नेछौँ ।’ घरेलु हिँसा, जबर्जस्ती करणी, आत्महत्या, सम्बन्ध विच्छेद जस्ता घटना बढ्दै गएकाले त्यस्ता गतिविधि न्यूनिकरणमा धेरै समय उपयोग गर्ने उनले बताए ।




