
धार्चेका भूमिहीन परिवारलाई लालपुर्जा वितरणको तयारी
उत्तरी गोरखाको धार्चे गाउँपालिकाका भूमिहीन घरपरिवारलाई लालपुर्जा वितरणको तयारी गरिएको छ । राष्ट्रिय भूमि आयोग गोरखाको टोलीले हुल्चुक पुगेर प्रस्तावित जमिनको नापजाँच थालेको छ । हुल्चुकका १३ घर भूमिहिन दलितलाई लालपुर्जा वितरण गरिने आयोगका जिल्ला सदस्य विपिनचन्द्र ढकालले बताए । ‘भूमिहीन दलित, भूमिहिन सुकम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा प्रदान गर्ने हो,’ उनले भने, ‘हुल्चुकमा त्यस्ता १३ घर छन्, उनीहरुलाई लालपुर्जा दिनका लागी फिल्डमै आएर प्रस्तावित जमिनको नाँपजाँच शुरु गरेका हौ ।’
उक्त घरपरिवारलाई यसअघि निस्सा वितरण भइसकेको छ । सोही निस्साको आधारमा जमिनको नापजाँच भइरहेको बताइएको छ । आगामी चैत्र ५ गतेभित्र लालुपर्जा वितरण गर्ने योजनाका साथ काम अघि बढाइएको ढकालले बताए । उनीहरुलाई प्रदान गरिने जग्गा सरकारी, ऐलानी र पर्ती रहेको उनले जानकारी दिए । कति जग्गा दिने भन्ने एकीन नभएपनि हुल्चुकमा उपलब्ध जग्गा दामासायी रुपले वितरण गर्ने योजना रहेको उनको भनाइ छ ।
धार्चेमा अव्यवस्थित बसोबासी समेत रहेको भन्दै उनले सुकुम्बासी भूमिहीन दलितलाई लालपुर्जा वितरण गरेपछि मात्र उनीहरुको प्रक्रिया अघि बढाइने जानकारी दिए । नापजाँचका लागी धार्चे पुगेको टोलीमा भूमी आयोगकी जिल्ला अध्यक्ष कमला नहर्की, सदस्य ढकाल, मिना पनेरु, सदस्य सचिव नापी कार्यलयका प्रमुख भरतराज खनाल, सर्भेक्षक सम्झना ढकाल, अमिन सूर्यबहादुर गुरुङ लगायत सिद्र्धिबासको नापी र मालपोत कार्यालयका कर्मचारीहरु रहेका छन् ।




