
मिरकोटको विश्वेश्वर महादेव मन्दिर पुनर्निर्माणमा लापरबाही : बुट्टा भएको टुँडाल गायब, विश्वेश्वर महादेवलाई भालेश्वर बनाएको भन्दै आलोचना
विकास मरहट्टा :
पालुङटार नगरपालिका–१० लाजिकोटस्थित विश्वेश्वर महादेव मन्दिर पुनर्निर्माणमा लापरबाही भएको पाइएको छ । चारसय बर्ष पुरानो उक्त मन्दिर पुनर्निर्माण गर्दा ऐतिहासिक स्वरुप र संरचना परिवर्तन भएको भन्दै स्थानीयले असन्तुष्टी जनाएका छन् ।
यसअघि मन्दिरमा रहेको बुट्टा भएको टुँडाल पुनर्निर्माण गर्दा गायब बनाइएको मन्दिरका पुजारी छविलाल गिरीले बताए । ‘पहिले बुट्टा भएको टुँडालहरु थिए,’ उनले भने, ‘पुनर्निर्माण गर्दा त्यो कता लगेर राखे, अहिले बुट्टा नभएको सादा टुँडाल हालेका छन् ।’ यसले मन्दिरको मौलिक स्वरुप नै गुमेको भन्दै उनले चिन्ता व्यक्त गरे ।
महादेव मन्दिरको छानामा कुखुराको भालेलाई आसन गराइएको भन्दै स्थानीयले आलोचना गरेका छन् । ‘हामीले किन कुखुराको भाले राखेको, भनेर सोध्दा राम्रो देखिएको छ भनेर त्यसै हाँसोमा उँडाए,’ स्थानीय हरिमाया थापाले भनिन्, ‘विश्वेश्वर महादेवलाई भालेश्वर बनाइदिए, भोग नदिने ठाउँमा किन कुखुराको भाले बना’को ?’ पुनर्निर्माण हुनुअघि यस्तो संरचना नरहेको भन्दै उनले थपिएको उक्त संरचनाले मन्दिरको स्वरुप नै बिग्रिएको बताइन् ।
वडाध्यक्ष रिखिराज धौरालीले पनि सो कुरामा सहमत जनाउँदै मन्दिर पुनर्निर्माणमा लापरवाही भएको बताए । ‘हामीले पनि शिवमन्दिरमा कुखुराको भाले राख्न हुदैन भनेका थियौँ । त्यो राम्रो पनि देखिएको छैन । तर हाँस हो भनेर टारे,’ उनले भने । मन्दिर पुनर्निर्माणको क्रममा चुना सुर्की कम, माटो बढी प्रयोग भएको उनले बताए । ‘पुराना काम नलाग्ने झिंगटी पनि हालेका थिए, बिरोध गरेर हामीले एकदिन काम पनि रोकिदिएका थियौ,’ उनले भने ।
२०७२ सालको भूकम्पले क्षति पुगेको उक्त मन्दिर गोरखा संग्रहालयले हेर्ने गरी २०७८ साल असार १३ गते ठेक्का सम्झौता भएर काम अघि बढेको हो । तत्कालिन समयका गोरखा संग्रहालय प्रमुख नवराज अधिकारीले पुननिर्माणको जिम्मा छायाश्वरी न्यू केपी जेभीले पाएको बताए । ‘उक्त मन्दिर पुननिर्माणका लागी ९० लाख रकम विनियोजन भएको थियो,’ उनले भने, ‘तर निर्माण कम्पनीले घटेर ठेक्का हालेकाले भ्याट सहित ७३ लाख ७४ हजारमा सम्झौता भएको हो ।’ करिव डेढ बर्षमा पुरानौ स्वरुप र शैलीमा उक्त मन्दिर पुननिर्माण भएको उनले जानकारी दिए ।
यसअघि मन्दिरको बुट्टा भएका टुँडालहरु हटाएर किन सादा टुँडाल राखियो भन्ने प्रश्नको उत्तर दिदै उनले भने, ‘भूकम्पअघि नै त्यो मन्दिर जीर्ण बनेको रहेछ । स्थानीय आफैले आफ्नो हिसावले मर्मत गरेछन् । छाना सानो बनाएर आकार फरक पारी माथिल्लो भागमा जस्ता छाएका रहेछन् । त्यसैले पुरानो टुँडाल त्यसमा फिट भएन अनि टुँडाल मठारेर छोटो बनाएछन् ।पछि हामीले पुनर्निर्माण गर्ने बेला त्यो टुँडाल त्यसमा फिट भएन, धैरेजसो धमिराले पनि खाएर बुट्टा हराइसकेको थियो, त्यसलाई आवश्यक ट्रिटमेन्ट सहित पुरानै बुट्टा भरेर प्रतिस्थापन गदै लाने भनेर त्यो बेला सामान्य टुँडाल हालेका हौ ।’
सम्बन्धित वडा कार्यालयको सिफारिसमा पुरातत्व बिभागको निर्णय गराइ हाल उक्त टुँडालहरु गोरखा संग्रहालय परिसरमा राखिएको उनले जानकारी दिए । ‘ती टुँडालहरुको सरसफाई गरी ट्रिटमेन्ट गरेर राखिएको छ, अव पुरानै स्वरुपमा कार्भिङ गरेर त्यो मन्दिरमा राख्ने हो,’ उनले भने । मन्दिरको टुँडाल पुनस्र्थापना सहित कपाउण्ड लगायतका परिसरको कामका लागी यो बर्ष ४५ लाख रकम समेत विनियोजन भएको उनले जानकारी गराए । ठेक्का प्रक्रिया समेत अघि बढीसकेको उनको भनाइ छ ।
कुखुरा भाले बनाएको बिषयलाई भने उनले सामान्य लिए । उनले भने, ‘त्यो भागमा राख्ने एउटा झिंगटी हुन्छ, जसलाई गंगचा भनिन्छ । त्यो भनेको नेवारीमा कुखुराको भाले हो । त्यो चरा जस्तो आकारको हुन्छ र त्यो राख्ने चलन पनि छ ।’ पुननिर्माण हुनुअघि पनि त्यहाँ भालेको जस्तै संरचना रहेको उनले दावी गरे । तर स्थानीयले भने यसअघिको संरचनामा कुखुराको भाले नरहेको बताउँदै आएका छन् ।




