| मङ्लबार, कार्तिक २४, २०८३

गण्डकी प्रदेश मातहतका कार्यालयमध्ये सामाजिक विकास कार्यालय उत्कृष्ट बन्न सफल

गोरखामा रहेका गण्डकी प्रदेश मातहत सरकारी कार्यालयहरुमध्ये सामाजिक विकास कार्यालय सर्वोत्कृष्ट कार्यालय बनेको छ । पाँच वटा सूचकलाई आधार मान्दै प्रदेशको मुख्यमन्त्री कार्यालयले सामाजिक विकास कार्यालयलाई उत्कृष्ट कार्यालय घोषणा गरेको हो ।

सेवा प्रवाह, आर्थिक अनुशासन, कार्यालय व्यवस्थापन, सिर्जनशिलता र कर्मचारी अनुशासनलाई मुख्य आधार बनाएर हरेक बर्ष कार्यालयहरुको मूल्यांकन हुनेगर्छ । सोही मूल्यांकनको आधारमा सामाजिक विकास कार्यालय उत्कृष्ट बनेको कार्यालय प्रमुख दीपेन्द्र परियारले जानकारी दिए ।

‘मुख्यमन्त्री कार्यालयले सेडुल अनुसार १०० पूर्णाङ्कमा मूल्याङ्कन गर्छ, त्यसको विभिन्न क्षेत्रहरु छन्,’ सामाजिक विकास कार्यालय गोरखाका प्रमुख दीपेन्द्र परियारले भने, ‘उत्कृष्ट बन्न सो मूल्याङ्कनमा ८० प्रतिशत भन्दा बढी वित्तीय र भौतिक प्रगति गरेको हुनुपर्छ ।’ गत बर्ष ९० प्रतिशत भौतिक र वित्तीय प्रगति हाँसिल गर्दै आफ्नो कार्यालय उत्कृष्ट बनेको उनले जानकारी दिए । उत्कृष्ट बनेको कार्यालयलाई गणतन्त्र दिवसको अवसरमा सम्मानपत्र सहित पुरस्कृत गरिने बताइएको छ । प्रदेश अन्तरगत जिल्लामा १२ वटा कार्यालय रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्