| मङ्लबार, कार्तिक २४, २०८३

गोरखामा ट्राफिक प्रहरीको जनशक्ति अभाव, आवश्यक स्थानमा ट्राफिक परिचालन गर्न समस्या

जिल्लामा ट्राफिक प्रहरीको जनशक्ति अभाव खड्किएको छ । २०६३ सालदेखि कायम रहेको दरवन्दी संख्या हालसम्म थपिएको छैन । दरवन्दी थप नहुदाँ सेवा प्रवाहमा समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

‘२०६३ सालमा नौ जनाको दरबन्दी थियो, अहिले पनि त्यति नै छ,’ जिल्ला ट्राफिक इन्चार्ज शिवप्रसाद पाठकले भने, ‘पहिले र अहिलेको तुलनामा जिल्लाका धेरै ठाउँमा सडक पुगिसके, सवारी सधानको संख्या त्यत्तिकै बढेको छ, त्यही दरवन्दीले कसरी धान्छ ?’ जनशक्ति अभावकै कारण आवश्यक ठाउँहरुमा ट्राफिक प्रहरी खटाउन नसकिएको उनले बताए ।

माछाखोला, कोखेआहाले, लक्ष्मीबजार र बालुवामा ट्राफिक प्रहरी अति आवश्यक देखिए पनि जनशक्ति नपुगेका कारण व्यवस्थापन गर्न नसकिएको उनले जानकारी दिए । ‘माछाखोला र आरुघाटको दुरी करिव २४ किलोमिटर छ, तर माछाखोला क्षेत्रमा दुर्घटना भयो भने आरुघाटबाट खटाउनुपर्ने बाध्यता छ,’ उनले भने । माछाखोलामा ट्राफिक राख्न सके मान्वु क्षेत्रमा पनि हेर्न सकिने उनको भनाइ छ ।

त्यस्तै बालुवामा ट्राफिक जनशक्ति नहुदाँ नयाँसाँघुले बालुवादेखि बारपाक लाप्राकसम्मको क्षेत्र हेर्नु परेको उनले बताए । जनशक्ति अभावकै कारण पूर्व स्थापित पोस्टहरुमा समेत जनशक्ति पठाउन नसकिएको कार्यालयले जनाएको छ । ‘जौवारी र माछाखोलामा अस्थायी प्रहरी पोस्ट स्थापना भएपनि जनशक्ति पठाउन सकेका छैनौँ,’ उनले भने । गोरखा नगरपालिकाभित्र एउटा पिकेट(पोस्ट) थप गर्नुपर्ने आवश्यक देखिएपनि जनशक्ति अभावकै कारण नसकिएको उनको भनाइ छ ।

‘आवश्यक जनशक्ति नभएर ग्रामीण भेगमा चलेका चोरीका मोटरसाइकलको निगरानी बढाउन सकेका छैनौँ । दुर्घटनाको समयमा तत्काल रेस्पोन्स गर्न पनि समस्या छ । फेरि ग्रामीण भेगका बिद्यालयमा जनचेतनामूलक कार्यक्रम संचालन गर्न पनि सकेका छैनाँै,’ जिल्ला ट्राफिक प्रमुख पाठकले भने ।

उनका अनुसार जिल्लाभर हाल १८ जना ट्राफिक प्रहरी कार्यरत छन् । ९ जना दरवन्दीको र बाँकी काजमा खटिएको बताउँदै उनले थपे, ‘काजमा आएकाहरुको अवधि ६ महिना मात्रै हुन्छ, दरवन्दी थप गरी यस कार्यालयको स्तरोन्नति तथा स्तरवृद्धि हुनु आवश्यक छ ।’ पछिल्लो समय जिल्लामा सडक बिस्तारसँगै सवारी साधनको संख्या थप हुदैँ गए पनि ट्राफिक जनशक्तिको दरवन्दी भने २०६३ सालदेखि कै कायम रहेको भन्दै उनले असन्तुष्टी समेत जनाए ।

प्रतिक्रिया दिनुहोस्