
नेपाल मगर संघको २८ औँ राष्ट्रिय सम्मेलन गोरखामा हुने
नेपाल मगर संघ केन्द्रीय समितिको २८ औँ राष्ट्रिय सम्मेलन गोरखामा हुने भएको छ । यही जेठ १२ र १३ गते हुने सम्मेलन गोरखामा गर्न लागिएको बिहिबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।
सम्मेलनले विधान संशोधनदेखि भावी नीति तथा योजना निर्माण गर्ने संघका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुनमगरले बताए । त्यस्तै मगर समुदायको सामाजिक, आर्थिक, राजनीतिक तथा आर्थिक विकासको विषयमा छलफल समेत गरिने उनले जानकारी दिए ।
गोरखा मगर समुदायको राजनीतिक इतिहाससँग जोडिएको भूमि भएकाले पनि यस जिल्लामा कार्यक्रम गर्न लागिएको उनको भनाइ छ । सम्मेलनमा प्रदेश, संघका भातृ संगठन, वैदेशिक शाखा र ७७ वटै जिल्ला समितिहरुबाट सातसयभन्दा बढी पदाधिकारीहरुको सहभागिता हुने बताइएको छ ।
सम्मेलनमा संघले हालसम्म गरेका कार्यक्रमको समीक्षा समेत गने कार्यक्रम तय गरेको मगरले बताए । उनका अनुसार गोरखा संग्रहालय परिसरमा कार्यक्रम गर्ने तयारी गरिएको छ । ‘त्यहाँ कार्यक्रम गर्नका लागि समन्वय गरिरहेका छौँ, कार्यक्रमको उद्घाटन प्रधानमन्त्रीबाट गराउने भन्ने पनि छ,’ मगरले भने ।
जिल्लामा हुने सम्मेलनले पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने बताइएको छ । पत्रकार सम्मेलनमा बोल्दै संघका केन्द्रीय समिति सल्लाहकार एवं गोरखा नगरपालिकाका मेयर कृष्ण राना मगरले पनि सोही कुरा दोहो¥याएका थिए । प्रथम शहीद लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्न समेत सम्मेलन मार्फत माग गरिने संघले जनाएको छ ।




