
वन्यजन्तुबाट पशुधनमा पुगेको क्षतिको राहत पीडितले पाएनन्, रकम अख्तियारी नआएका कारण समस्या
वन्यजन्तुबाट घरपालुवा पशुधनमा हुने क्षतिबापत पाउने राहत रकम यो बर्ष वितरण हुन सकेको छैन । रकमको अख्तियारी नआएका कारण समस्या भएको डिभिजन वन कार्यालयले जनाएको छ ।
यसअघि मनास्लु संरक्षण क्षेत्र आयोजना(एमक्याप)मार्फत राहत वितरण हुदै आएपनि यो बर्ष डिभिजन वन कार्यालयलाई जिम्मा दिइएको छ । ‘यसअघि पीडितले हाम्रो कार्यालयमा निवेदन दिनुपथ्र्याे, डिएफओ संयोजकत्वको समितिले निवेदन उपर छानविन गरी एमक्यापमा सिफारिस गरेर पठाउँथ्यो र एमक्यापले त्यही आधारमा रकम वितरण गथ्र्याे,’ डिभिजन वन कार्यालयका सूचना अधिकारी महेश पौडेलले भने, ‘तर यो बर्ष ‘वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका २०८०’ जारी गर्दै राहत रकम वितरण गर्ने जिम्मा हाम्रै कार्यालयलाई दियो ।
जिम्मा त पाइयो तर हालसम्म माथिबाट रकमको अख्तियारी आएको छैन ।’ राहत माग गर्दै चालु आवको पुस मसान्तसम्म १ सय ६० वटा निवदेन परिसकेको उनले बताए । जसमध्ये २ सय ५ वटा पशुधन र ५ वटा निवेदन व्यक्तिलाई क्षति पु¥याएको भनी परेको छ । स्थानीय तहको क्षति मूल्याकंन अनुसार करिव १९ लाख राहत रकम वितरण गर्नुपर्ने दायित्व सिर्जना भइसकेको पौडेलले जानकारी दिए ।
तर रकमको अख्तियारी प्राप्त नहुदाँ राहत वितरण हुन नसकेको उनको भनाइ छ । ‘अख्तियारीका लागी हामीले माग गरेर पठाएका छौ तर केही जानकारी आएको छैन । यता पीडितहरु मर्कामा परेका छन् अर्काे तिर हामीलाई राहत के भयो भन्दै दिनको ८–९ वटा फोन आउने गर्छ । हामी पनि हैरान भाका छौ,’ उनले भने । राहत वितरण निर्देशिका अनुसार १४ वटा वन्यजन्तुबाट मानविय र पशुधन क्षति भएमा राहत पाउने व्यवस्था छ । जिल्लाको हकमा भने अधिकांश चितुवाबाटै पशुधन तथा मानविय क्षति हुने गरेको पाइएको पौडेलले जानकारी दिए ।




