
गोरखाका तीन पालिकामा फागुन १ गते सार्वजनिक विदा
सर्वोच्च अदालतको आदेशविपरीत गोरखाका तीन पालिकाले फागुन १ गतेलाई जनयुद्ध दिवस मनाउनका लागि सार्वजनिक विदा दिने निर्णय गरेका छन् ।
जिल्लाका अजीरकोट, गण्डकी र भीमसेनथापा गाउँपालिकाले फागुन १ गते सार्वजनिक विदा दिई जनयुद्ध दिवस मनाउने निर्णय गरेका हुन् ।
अजीरकोट गाउँपालिकाको आइतबार सम्पन्न ११२ औं बैठकले फागुन १ गते पालिकाअन्तर्गतका सामुदायिक विद्यालय, स्वास्थ्य संस्था, पालिकाभित्र सञ्चालित वैंक तथा वित्तीय संस्थामा सार्वजनिक विदा दिने निर्णय गरेको जनाएको छ । सार्वजनिक सूचना जारी गरी सो पालिकाले सार्वजनिक विदाको निर्णय गरेको जानकारी दिएको छ ।

त्यस्तै गण्डकी गाउँपालिकाले पनि फागुन १ गते सार्वजनिक विदा दिने निर्णय गरेको जनाएको छ । पालिकाको वार्षिक नीति तथा कार्यक्रममा नै सो दिन सार्वजनिक विदा दिने निर्णय गरिएको पालिका प्रमुख दिपक तिमिल्सिनाले जानकारी दिए ।

भीमसेन थापा गाउँपालिकाका प्रमुख लोकप्रसाद बञ्जराले पनि बार्षिक कार्यपात्रोमा सो दिनमा सार्वजनिक विदा दिने निर्णय गरेकाले निर्णय परिवर्तन नहुने जनाएका छन् । ‘हामीले सो दिनमा सार्वजनिक विदा उल्लेख गरेर बार्षिक क्यालेण्डर बनाएका छौँ’, बञ्जराले भने, ‘संघ सरकारले फिर्ता लिए पनि हाम्रो पालिकाको निर्णय फिर्ता हुदैन ।’
गोरखाका गण्डकी, भीमसेनथापा र अजीरकोट गाउँपालिका माओवादीले जितेका गाउँपालिकाहरु हुन् । गोरखाका ११ मध्य नौ वटा गाउँपालिका माओवादीले जितेको थियो । अन्य पालिकाले भने यस विषयमा केन्द्र सरकारको निर्णयसंग बाझिने गरी कुनै निर्णय नभएको जनाएका छन् ।
यसअघि जनयुद्ध दिवसका अवसरमा फागुन १ गते सार्वजनिक बिदा दिने सरकारी निर्णयविरुद्ध परेको रिटमाथि शुक्रवार सुनुवाइ गर्दै न्यायाधीश आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको इजलासले यस्तो आदेश दिएको थियो । जनयुद्ध शब्दमा राष्ट्रिय सहमति बनिनसकेको र संक्रमणकालीन न्यायका काममा संलग्न संस्थाको भावी काममा समेत प्रभाव पर्नसक्ने ठहर गर्दै सर्वोच्चले सरकारको सो निर्णय कार्यान्वयन नगर्न सर्वाेच्च अदालतले गत पुस १३ गते आदेश दिएको हो ।






