| मङ्लबार, कार्तिक २४, २०८३

गोरखा नगरभित्रका सामुदायिक बिद्यालयमा संचालित क्यान्टिनहरु बन्द गरिने

गोरखा नगरपालिका भित्रका सामुदायिक बिद्यालयहरुमा संचालित क्यान्टिनहरु बन्द हुने भएका छन् । बिद्यार्थीलाई खाजामा जंक फुड बिक्री वितरण गरेको भन्दै नगरपालिकाले बन्द गर्ने निर्णय गरेको हो । दिवा खाजाको बिषयमा गुनासो बढेपछि नगरपालिकाको अगुवाइमा बुधवार बिद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समिति अध्यक्षहरुको संयुक्त बैठक बसेको थियो । सोही बैठकले क्यान्टिन बन्द गर्ने निर्णय गरेको नगरपालिकाका स्रोत शिक्षक ध्रुवराज अर्यालले बताए ।

‘खाजाको बिषयमा गुनासो आएपछि हामीले केही विद्यालयहरुमा अनुगमन पनि ग¥यौ,’ उनले भने, ‘त्यहाँ मम, चाउमिन, चाउचाउ, लेज, कुरकुरे जस्ता जंक फुड बेचेको पाएपछि प्रअ र विव्यस अध्यक्षहरुको बैठक बोलायौँ । अनि छलफल गरेर बन्द गर्ने निर्णय ग¥यौ ।’ पोषणयुक्त र स्वस्थ्यकर खाजा दिनुपर्नेमा जंक फुड खुवाएको भन्दै उनले असन्तुष्टी समेत व्यक्त गरे ।
यता नगरपालिका भित्रका २० वटा सामुदायिक बिद्यालयमा दिवा खाजा परियोजनाका लागि आर्थिक सहयोग गर्दै आएको कल्स ओभर रिजेज नामक संस्थाले पनि अधिकांश क्यान्टिनले जंक फुड दिने गरेको गुनासो गरेको हो ।

‘जंकफुड बेच्न नपाउने, बिद्यार्थीलाई स्वस्थ्यकर र पोषणयुक्त खाजा खुवाउनुपर्ने भन्ने छ, त्यही अनुसार हामीले हरेक दिनका लागि खाजाको मेनु पनि तयार गरिदिएका छौँ । तर अधिकांश बिद्यालयका क्यान्टिनमा हाम्रो मेन्युमा भएका खानेकुरा नदिइ जंक फुड दिने गरेको पाइएपछि हामीले नगरपालिकामा कम्प्लेन ग¥याँै, क्यान्टिन बन्द नगरे सहयोग गर्दैनौ भन्यौ अनि सरोकारवालाको बैठक बसेर निर्णय गरिएको हो,’ संस्थाका जिल्ला संयोजक राजेश श्रेष्ठले भने ।

संस्थाले बनाएको मेन्युमा खिर अचार, हरियो सागसब्जीको साथमा फ्राइ राइस, अण्डाको साथमा तरकारी र भुजा, दाल भात अचार, तरकारीको साथमा चिउरा वा भुजा र मौसमी फलफुलको साथमा मकै भटमास जस्ता परिकार रहेको उनले जानकारी दिए । ‘बार अनुसार पालैपालो ती परिकार खुवाउनुपर्ने हो, तर अनुगमन गर्दा अधिकांशले त्यो मेनुु फलो गरेको देखिएन, जंक फुडको बढी प्रयोग भएको देखियो,’ उनले भने ।

परियोजना लागू भएको बिद्यालयमा संस्थाले कक्षा ६ देखि १० सम्मका बिद्यार्थीलाई खाजाका लागि प्रतिविद्यार्थी प्रतिदिन २० रुपैया दिदै आएको छ । त्यसमा नगरपालिकाले ५ र विद्यार्थी स्वयंले ५ गरी कुल ३० रुपैयाको खाजा उनीहरुलाई उपलब्ध गराइन्छ । परियोजना लागू भएको बिद्यालयमा संस्थाले खाजा पकाउने कर्मचारी समेत उपलब्ध गराउँदै आएको छ ।

यता इसिडीदेखि ५ कक्षा सम्मका बिद्यार्थीलाई भने दिवा खाजा स्वरुप संघीय सरकारबाट प्रतिबिद्यार्थी दैनिक १५ रुपैयाका दरले रकम उपलब्ध गराउने गर्छ । त्यसमा नगरपालिकाको तर्फबाट ५ र विद्यार्थीको तर्फबाट ५ गरी कुल २५ रुपैया बराबरको खाजा उपलब्ध हुदै आएको नगरपालिका शिक्षा शाखाले जनाएको छ । गोरखा नगरपालिकाभित्र कुल ४७वटा सामुदायिक बिद्यालय रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्