
गुप्सीपाखाको ६०० घरमा खानेपानी अभाव ‘डेढघण्टा हिडेर पानी’ स्थानीयबासी पुरानो बस्ती फर्कन थाले
मेलिना बराम :
पाइपभित्र हिउँ जमेर चिराचिरा पर्न थालेपछि धार्चे गाउँपालिका–४ लाप्राकको गुप्सीपाखास्थित एकीकृत नमूना बस्तीमा लामो समयदेखि खानेपानी अवरुद्ध छ । बस्तीबाट २३ किलोमिटर टाढा, हिमालको फेद( भुम्लेचेत) बाट ल्याइएको पानी भित्रभित्रै जमेर पाइप फुटेपछि छसय घरधुरी रहेको गुप्सीबस्तीका बासिन्दा खानेपानीको चर्को समस्या भोग्न बाध्य छन् ।

खानेपानी आयोजना बिग्रिएपछि गुप्सीपाखाका बासिन्दा डेढ घण्टा लगाएर सानो रिन्जिलुङ र ठूलो रिञ्जिलुङको धाराबाट खानेपानी ओसार्न बाध्य भएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष सुकबहादुर गुरुङले बताए । ‘ठूलो रिन्जिलुङ भन्दा सानो रिञ्जिलुङ करिब २०/२५ मिनेट अझै टाढा छ । ‘ठुलो रिन्जिलुङको एउटा धारा अलि नजिक त छ, तर धेरै भीड हुन्छ । पालो पर्खिनुभन्दा टाढा भएपनि सानो रिन्जिलुङबाट ल्याउने भनेर मान्छेहरु त्यता जान्छन्,’ उनले भने, ‘जाँदा ओरालो भए पनि आउँदा पानी बोकेर उकालो उक्लन पर्ने भएर टाइम लाग्छ । भारी नबोकी अप डाउन गर्दा आधा घण्टा लाग्छ भने सामान बोकेर आँउदा झण्डै डेढ घण्ट लाग्छ ।’
खानेपानी अवरुद्ध भएपछि होटल सञ्चालक, होमस्टे सञ्चालकसहित गुप्सीपाखाको एकीकृत बस्ती घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई पनि समस्या परेको उनले बताए । ‘घरमा वृद्धवृद्धा मात्रै भएकालाई झनै
समस्या छ’, उनले भने, ‘बस्तीमा पानी छैन, उहाँहरु लिन पनि जान सक्नु हुन्न, अरुले पनि कति दिन ल्याइदिने हो र ? सारै समस्या छ ।’ दसपन्ध्र जनाको टोली बस्तीमा आउँदा पनि प्रसस्त मात्रामा पानी खुवाउन नसक्ने अवस्था रहेको अध्यक्ष गुरुङले सुनाए ।

‘आठ, दस जना पाहुना आउने भए भने, हामीलाई अरु व्यवस्था कसरी गर्ने भन्नुभन्दा पानी कसरी पु¥याउने भन्ने टेन्सन हुन्छ’, उनले भने ।पानीको मुहान भएको ठाउँ(भुम्लेचेत) समुद्री सतहदेखि २७०० मिटर उचाइको गुप्सीपाखामा ६ करोड खर्च गरेर चराचुरुंगी हिमाल फेदको भुल्मेचेतस्थित मुहानबाट पानी ल्याइएको थियो ।
गत मंसिर अन्तिम साताबाट गुप्सीपाखामा पानी आउन ठप्प बनेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष गुरुङले बताए । ३७६० मिटर उचाइको भुम्लेचेत मुहान क्षेत्रको तापक्रम सून्य डिग्री सेल्सियसमा पुगेसँगै पानी पाइपभित्र जमेर फुटेको उनले बताए । ‘हिमालको फेदबाट पानी ल्याएका हौं । चिसोले जमेपछि फलामको पाइप फुट्दो रहेछ,’ उनले भने । भुम्लेचेत मुहानबाट २१ किलोमिटर पाइप बिछ्याएर गुप्सीपाखामा पानी पु¥याइएको छ । बस्तीदेखि १७ किलोमिटर टाढा पानीको पाइप फुटेको हो । जिआई पाइप बाँसको कप्टेरा फुटेझैँ चर्चरी फुटेको उनको भनाइ छ ।

३७५० मिटर उचाइदेखि ३३०० मिटरसम्म पानी जमेर पाइप फुट्ने समस्या थपिएको उनले बताए । जमेको पानीको पाइप कुन दिनमा खुल्छ भन्ने थाहा नभएको अध्यक्ष गुरुङको भनाई छ । ‘पेइची—आन्द्रे खोला—कबिजेसम्म चारकिलोमिटर क्षेत्रमा धेरै पाइप फुटेका छन्,’ उनले भने, ‘चिसोले कहिले काहीँ हुम्चिदेखि पञ्चिमसम्म पनि पाइप फुट्छ ।’ हिउँदका बेला गुप्सीपाखाका बासिन्दाले बर्षेनी यस्तो समस्या भोग्नु परेको अध्यक्ष गुरुङ बताउँछन् । २३ किलोमिटर टाढा रहेको भुम्लेचेतको मुहान पुग्न स्थानीयलाई दुई दिन लाग्छ । ‘एक रात अधेरीखर्कमा बास बसेर भोलिपल्ट बिहान मात्र मुहानमा पुगिन्छ,’ अध्यक्ष गुरुङले भने, ‘अहिले मर्मत गर्न सम्भव छैन । अब चैत–वैशाखमा तापक्रम बढेपछि मात्र मर्मत कार्य सुरु हुने योजना बनाएका छौं ।’
छसय भन्दा धेरै घरधुरी रहेको गुप्सीपाखाका करिब चारसय घरधुरीले सो पानी जडान गरेका थिए । तर ६ करोड लगानीमा निर्माण भएको सो खानेपानी आयोजनाको पानी हिउँदका बेला बर्सेनी अवरुद्ध भइरहँदा यहाँका बासिन्दाले एकवर्ष पनि प्रयोग गर्न पाएका छैनन् । ‘वैशाखबाट मंसिरसम्म पानी आउँछ, त्यसपछि चिसोले पानी जम्छ,’ गुरुङले भने, ‘यो वर्ष मात्र होइन, बर्सेनि करिब आठ महिना मात्र पानी खान पाउँछौं, चार महिना ठप्प नै हुन्छ ।’ पानीको समस्या भएपछि केही स्थानीयहरु पुरानो बस्ती फर्कन थालेको उनले जानकारी दिए । ‘कति त पुरानो बस्ती गईसके,’सुस्केरो हाल्दै उनले भने, ‘ के गर्नु त अब बस्तीमा पानी छैन, पानी नभए पछि धेरै समस्या हुन्छ ।’

बस्ती निर्माण भएपछि खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय र केयर नेपालमार्फत स्वाँरा सघन गाउँ विकास केन्द्रले उक्त आयोजना निर्माण गरेको हो । बर्सेनि मर्मत गर्नुपर्ने बाध्यता थपिएपछि यहाँका स्थानीयले अर्को मुहानबाट पानी ल्याउन पहल थालेका छन् । बस्तीबाट १५ किलोमिटर दूरीमा रहेको आन्द्रे खोलाको मुहानबाट पानी ल्याउन विस्तृत परियोजना प्रतिवेदन(डिपीआर)समेत तयार गरेको अध्यक्ष गुरुङले बताए । उनका अनुसार पानी ल्याउन संघ सरकार र खानेपानी सरसफाइ डिभिजन कार्यालय गोरखाले गरी दुई चोटी डीपीआर गरिसकेका छन् ।

‘दुई पटकसम्म डीपीआर भए पनि योजनाको स्रोत सुनिश्चित भने भएको छैन,’ उनले भने, ‘यसको काम अघि बढाउनुपर्ने हाम्रो माग हो, भुम्लेचेत खानेपानीको पाइपमा त्यो पानी ल्याएर जोड्न सके बाह्रै महिना बस्तीका बासिन्दाले नियमित खानेपानी उपभोग गर्न पाउँथे ।’ नयाँ योजनाअन्तर्गत आन्द्रे खोलाको शिरको पानी भुम्लेचेत योजनाको पाइप बिछ्याएको लाम्रोखर्कमा जोड्न सकिने उनले बताए । उनका अनुसार यो वर्ष संघ सरकारले आन्द्रे खोलाको शिरबाट पानी ल्याउनका लागि २० लाख बजेट विनियोजन गरिदिएको तर त्यो रकम अपुग भएकोे बताए । गुप्सीपाखामा ६०१ घर छन् ।




