| मङ्लबार, कार्तिक २४, २०८३

अझै हुन सकेन गोरखा नगरपालिकाको नगरसभा

जिल्लाको सदरमुकाममा अबस्थित गोरखा नगरपालिकाले निर्धारित मिति गुज्रिसक्दा पनि नगरसभा आयोजना गर्न सकेको छैन । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ४, दफा १९ तथा गण्डकी प्रदेशको स्थानीय तहको सभा सञ्चालन सम्बन्धी कार्यविधि(ऐन) २०७५, परिच्छेद २, दफा ३(१ र २) बमोजिम एउटा सभा सम्पन्न भएको मितिले ६ महिनाभित्र अर्को सभा गर्नुपर्ने उल्लेख छ ।

तर गोरखा नगरपालिकाले मिति गुज्रिएर तीनहप्ता वितिसक्दा पनि नगरसभा सम्पन्न गर्न नसकेको हो । गत असारभित्र बर्षे अधिवेशन गरिसकेका गोरखाका पालिकाहरुले छ महिना नबित्दै गत पुस मसान्तभित्र हिउँदे सभा पनि सम्पन्न गरेका छन् । गोरखा नगरपालिकाले पनि पुस मसान्तभित्र नगरसभा गरिसक्नु पर्नेमा सो आयोजना गर्न नसकेको हो ।

नगरप्रमुख कृष्ण राना मगरले नगरसभा नै आव्हान नगरेको उपप्रमुख मसलीमाया थोकर दाबी गर्छिन् । ‘मेयरसावले आव्हान गर्नुपर्ने नगरसभा आव्हानै नगरेकाले हुन नसकेको हो’, उपमेयर थोकर भन्छिन्, ‘उहाँ बहुमत कार्यपालिका सदस्यको अस्तित्व स्वीकार्न सक्नुहुन्न । सबैसंग समन्वय र सहकार्य गर्नुपर्छ भन्ने मानसिकता नहुँदा उहाँ कार्यपालिकाका बैठक डाक्न पनि सक्नुहुन्न, नगरसभा आव्हान गर्न पनि सक्नुहुन्न ।’

बर्षे अधिवेशनलाई बजेट अधिवेशन र हिउँदे अधिवेशनलाई विधान अधिवेशन भनेर चिन्ने गरिन्छ । धेरै ऐन, नियम, नियमावली, कार्यविधि बनाउनु पर्नेमा नगरसभा नै नहुँदा नगरपालिका धेरै पछाडि पर्ने उनले चिन्ता व्यक्त गरिन् ।

नगरसभासम्बन्धी एजेण्डामा नै प्रवेश नगरी कार्यपालिकाको बैठक अन्त्य भएकाले नगरसभा आव्हान गर्न नसकिएको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदी बताउँछन् । ‘उनी भन्छन्, ‘मैले बुझेसम्म गत पुसको १७ गते कार्यपालिकाको बैठक आव्हान भएको थियो । त्यो बैठकमा २० भन्दा धेरै एजेण्डाहरु थिए । तीमध्य एक नगरसभा आयोजना सम्बन्धी पनि थियो, तर तीनचार वटा एजेण्डामा छलफल भएपछि बैठक टुंगियो । नगरसभाको एजेण्डामा छलफलै हुन पाएन ।’ यथासमयमा नगरसभा नहुँदा लिजामा असर पर्ने उनले बताए ।

नगरप्रमुख राना मगरले भने नगरसभा गर्ने बताएका छन् । ‘नगरसभा नगर्ने होइन, गर्ने हो, तर कार्यपालिकाको बैठक हुन नसकेर नगरसभा हुन नसकेको हो’, उनी भन्छन्, ‘अब कार्यपालिकाको बैठक पनि हुन्छ र त्यसपछि नगरसभा पनि अब हुन्छ ।’ पुसमसान्तभित्र नगरसभा गरिसक्नुपर्ने बाध्यकारी नियम भने नभएको उनको भनाइ छ । ‘गतबर्षको नगरसभा पनि हामीले चैतमा गरेका हौँ’, उनी भन्छन्, ‘कैयौँ पालिकाहरुले सभा नै गर्दैनन्, हामीले नगर्ने त भनेका छैनौँ, गर्ने नै हो, तर प्राविधिक कारणले ढिला भएको मात्रै हो । अब हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्