
जहाँ कुमार केटाले मात्र पूजा गर्छन्
धार्मिक विविधताको मुलुक नेपालमा मन्दिर पनि विभिन्न देवदेवीका छन् । विविध मन्दिरमा पूजा गर्ने विधि विधानमा पनि विविधता छन् । कुनै मन्दिरमा पुरुष पुजारी, कुनैमा महिला । कुनै मन्दिरमा व्राह्मण, क्षेत्री पुजारी, कुनैमा गुरुङ, मगर वा पुजारीमा पनि जातीय विविधता । कुनै मन्दिरमा पाका, कुनैमा युवा पुजारी । कुनैमा विवाहित पुजारी, कुनैमा अविवाहित कुमार, कुमारी पुजारी ।
यस्तै विविधतायुक्त मन्दिरहरुमध्य गोरखामा एउटा यस्तो एउटा मन्दिर छ, जहाँ अविवाहित पुरुष मात्र पुजारी बन्न पाउँछन् । पालुङटार नगरपालिका वडा नं. ८ र ९ को साँधमा अवस्थित सिद्धबाबाको थान(मन्दिर)मा कुमार केटाले मात्र पूजा गर्न पाउने व्यवस्था छ । यहाँ गोरखा नगरपालिका वडा नं. १३ र १४, पालुङ्टार नगरपालिका ८ र ९ का भक्तजनहरु पूजा गर्न जान्छन् । समुद्री सतहबाट करिब दुईहजार मिटर उचाइमा जंगलको माझमा अवस्थित सिद्धको थानमा हरेक महिनाको पहिलो र अन्तिम मंगलबार मात्र पूजा हुने गर्छ । ‘सिद्ध थानमा कन्ने केटा(अविवाहित पुरुष), त्यसमा नि गुरुङ, मगरले मात्र पूजा गर्ने चलन छ’, पालुङ्टार ९ सिस्नेरीका डम्बर राना मगरले भने, ‘दिनभर पानी पनि नखाई भोकै बसेर पूजा गर्नुपर्छ । पूजाका दिन गाउँमा बाराना(खेतबारीको काम बार्ने) गरिन्छ ।’ पूजा सकेपछि गाउँका सबै घर–घरमा रोट(प्रसाद) बाँड्ने चलन रहेको उनले बताए ।
पुजारीहरु प्राय स्कूले बालबालिका हुने हुँदा पुजारी हुने बालकले महिनाको पहिलो र अन्तिम मंगलबार विद्यालयबाट बिदा लिने गर्छन् । ‘हाम्रो गाउँ गुरुङ, मगरको बसोबास धेरै भएको गाउँ हो । पुजारी खलक भन्ने कोही हुदैन, त्यसैले एकजनाले मात्र पूजा गर्ने भन्ने पनि हुदैन । सँधै एउटैको पढाइ बिग्रिन्छ भनेर आलोपालो गरी पुजारी बनाइन्छ’, राना मगर भन्छन्, ‘पूजा सर्जामचाहिँ गाउँका सबैको घरबाट उठाइन्छ, तर पूजा गुरुङ, मगरले मात्र गर्ने चलन हो । हाम्रा बाजे, बराजुको पालादेखि यस्तै चलिआएको चलन हो । किन यस्तो चलन चल्यो, हामी कसरी जानुँ ?’
पालुङटार नगरपालिका अन्तर्गत साविक धुवाँकोट, मिरकोट, च्याङ्ली गाविस र गोरखा नगरपालिका अन्तर्गत साविक देउराली गाविसका करिब पन्द्रसय घरधुरीले यहाँ पूजा गर्ने गर्छन् । मन्दिर कहिले र कसरी स्थापना भयो भन्ने एकिन नभए पनि साविक गाईखुर गाविसका पन्त परिबारले सो जंगलमा तामा खानी सञ्चालन गरेकाले दुख पीर नपरोस् भन्नका लागि मन्दिरको स्थापना गरेको भन्ने किंवदन्ती छ । सो परिबारले साविक धुवाँकोट ८ का पूजा गर्नेका लागि गुठीको जग्गा व्यवस्था गरेको र नगरा बजाउने परिबारलाई बार्षिक बाली दिने गर्छन् ।
सिद्धबाबाको भाकल गर्ने, घरमा नारायण पूजा गरेर सो मन्दिरमा फूलको डोली लैजाने प्रचलन पनि छ । ठूलो खडेरी परेका बेला जलधारा गरेमा पानी पर्ने जनविश्वास छ । यहाँ ‘धुवाँकोट’ नामको कोट र गढी पनि छन् । गाउँबस्तीबाट झण्डै तीन, चारघण्टा पैदल हिडेपछि पुगिने सो मन्दिरमा देवालय, सिँडी, खानेपानीलगायतका पूर्वाधार निर्माण गरिएको छैन । सदियौँदेखि रुखको फेदमा गुफाभित्र पूजा गर्ने चलन अहिले पनि छ । स्थानीय भक्तजनले देवालय निर्माण गर्न नसकेपछि चर्को घाम र झरीका बेला ओत लाग्ने छादन निर्माण गर्न, संरक्षणका लागि घेराबार तथा खानेपानीको व्यवस्था मिलाइदिन माग गरेका छन् ।




