| मङ्लबार, कार्तिक २४, २०८३

समुदायमा कांग्रेस अभियान सुरु : गोरखामा प्रत्येक घर–घरको विवरण संकलन गर्ने

‘समुदायमा जाउँ, जनताको कुरा सुनौँ’ भन्ने नाराका साथ सुरु हुने नेपाली कांग्रेस गोरखाको ‘समुदायमा कांग्रेस’ अभियानमा हरेक घरघरमा पुगेर विवरण संकलन गरिने भएको छ । सोमबार सम्पन्न पार्टीको विस्तारित बैठकले मंगलबारबाट सुरु हुने ‘समुदायमा कांग्रेस’ अभियान अन्तर्गत घरघरमा पुगेर विवरण उतार्ने निर्णय गरेको पार्टी सभापति नन्दप्रसाद न्यौपानेले जानकारी दिए ।

बैठकले मंगलबार गोरखा दरबार परिसरको सरसफाई गरेर अभियानको विधिवत आरम्भ गर्ने निर्णय गरेको उनले बताए । ‘समुदायमा कांग्रेस भन्नेचाहिँ राष्ट्रिय अभियान हो’, न्यौपानेले भने, ‘अभियानलाई सघन रुपमा लैजान प्रत्येक वडाको घरघरमा पुगेर विद्यमान राजनीतिक, सामाजिक, भौतिक विकासको अबस्था कस्तो छ भन्ने राय संकलन गर्ने, परिबारको संख्या कति छ, के कस्ता दुखपीडा, समस्या छन् भन्नेबारे जानकारी लिने, सो घरको पारिवारिक, आर्थिक अबस्था संकलन गर्ने, छोराछोरीले के विषय पढेका छन् जस्ता कुराहरु पनि संकलन गर्ने निर्णय गरेका छौँ । यसले कांग्रेसलाई थप अगाडि बढ्न मद्दत मिल्नेछ ।’

सो कार्यक्रम लिएर सबै पार्टीमा आवद्धहरुको घरमा पुग्ने समेत उनले बताए । ‘हामीले हाम्रो अभियानको स्वरुपका बारेमा अरु पार्टीलाई पनि जानकारी गराएका छौँ । त्यसैले कुनै समस्या हुदैन भन्ने अनुमान छ’, उनले भने ।

पहिलो चरणको कार्यक्रम १६ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने भने पनि २० गतेबाट मात्र घरदैलोमा पुग्ने उनले बताए । ‘प्रत्येक वडामा जिल्ला तहका कम्तिमा चारचार जनाका दरले प्रतिनिधि जानेछन् । समुदायमा जानेहरुलाई एक चरणको अभिमुखीकरण त भइसकेको छ । अझै १८ गते फेरि अभिमुखीकरण गरेर २० गतेबाट वडामा पुग्ने गरी पठाउँदैछौँ’, सभापति न्यौपानेले भने ।

अभियान सहिद दिवसको दिनबाट सुरु गरेर सुशील कोइराला स्मृति दिवससम्म सञ्चालन गर्ने बताइएको छ । सहिद दिवसका दिनमा गोरखा दरबारमा सरसफाइ गर्ने, बसपार्कस्थित श्यामसुन्दरको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम कांग्रेसले तय गरेको छ ।

पहिलो चरणको अभियान धार्चे र चुमनुब्रीबाहेक नौ वटा पालिकाका ८० वटा वडामा सञ्चालन हुनेछ । धार्चे र चुमनुब्रीका १४ वटा वडामा फागुन तेस्रो साता अभियान सञ्चालन गर्ने कांग्रेस गोरखाले जनाएको छ । ‘समुदायमा कांग्रेस’ अभियान सफल बनाउनका लागि प्रत्येक वडाको टोल टोलमा टोल समिति समेत गठन गरिएको सभापति न्यौपानेले जानकारी दिए । उनका अनुसार अभियान अन्तर्गत अभियानमा खटिएका टोली प्रत्येक वडामा कम्तिमा एकहप्ता खटिनेछन् ।

अभियान टोलीमा नेपाली कांग्रेसका महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्ला पदाधिकारी, क्षेत्रीय समिति, प्रदेश क्षेत्रीय समिति, पालिका सभापति तथा पदाधिकारी रहने छन् । कांगे्रस गोरखाले यही अभियानलाई मध्यनजर गरी गत पुस २० र २१ गते पार्टीका जिल्ला, क्षेत्रीय र प्रदेश क्षेत्रीय कार्यसमितिका ६४ जनालाई प्रशिक्षक प्रशिक्षण तालिम दिएको थियो ।

उक्त तालिमबाट उत्पादित प्रशिक्षकहरुले प्रत्यक वडार गाउँगाउँमा गएर प्रशिक्षण दिने छन् । नेपाली कांग्रेस गोरखाका जिल्ला सभापति नन्द प्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न बिस्तारित बैठकमा नेपाली कांग्रसको केन्द्रीय सदस्य उर्मिला थपलिया, प्रत्येक वडा समितिका सभापतिहरु, भातृ तथा सुभेच्छुक संघ सस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

अभियान अन्तर्गत जिल्लाका ११ वटै स्थानीय तहका सवै वडामा खुला छलफल तथा बहस कार्यक्रम गरिने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्