
नेपाल रेडक्रस गोरखा शाखाको सभापतिमा बानियाँ
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गोरखाको सभापतिमा भीमसेनकाजी बानियाँ निर्वाचित भएका छन् । यसअघिको समितिमा मन्त्री रहेका बानियाँ नयाँ कार्यकालका लागि सभापतिमा चयन भएका हुन् ।
कांग्रेस, माओवादी र एमालेको गठबन्धनबाट उम्मेद्वार बनेका बानियाँ ८२ मत ल्याई निर्वाचित भएका हुन् । उनले स्वतन्त्र उम्मेद्वारका रुपमा चुनाव लडेका टोपबहादुर बानियाँलाई पराजित गरेका हुन् । उनले ३८ मत पाएका थिए ।
मन्त्री पदमा तीन दलीय गठबन्धनका उम्मेद्वार घनश्याम श्रेष्ठले ५९ मत ल्याई विजयी भएका छन् । प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार कृष्णप्रसाद सोडारीले ४८ र शिव केसीले ११ मत पाएका थिए ।
त्यस्तै, उपमन्त्रीमा भने गठबन्धनका उम्मेद्वार निधिप्रसाद तिमिल्सिनालाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार धनराज घले ६५ मत पाएर विजयी भए । गठबन्धनका उम्मेदवार तिमल्सिनाले जम्मा ५५ मत मात्र पाएका थिए ।
सभापति, मन्त्री र उपमन्त्रीबाहेक अन्य सबै पदहरुमा गठबन्धनको भागबण्डाअनुसार निर्विरोध निर्वाचित भएका छन् ।
महिला उपसभापतिमा मञ्जु अर्याल, उपसभापतिमा भक्तराम राना मगर, कोषाध्यक्षमा नवराज उपाध्याय, उपकोषाध्यक्षमा कुमार बानियाँ, महिला सदस्यमा फुलमाया गुरुङ, मिना श्रेष्ठ, मिश्री देवी अधिकारी, सदस्यहरुमा कृष्ण गुरुङ, सन्तोषप्रसाद घिमिरे, कृष्णबाबु कुँवर, दिनेश खनखवास, बासुदेव भट्ट, इश्वर अधिकारी र सुनील कुँवर निर्विरोध निर्वाचित भए ।
१ सय ३८ मतदातामध्ये १ सय २२ जनाले मतदान प्रक्रियामा भाग लिएका थिए ।
अधिवेशनको पूर्वसन्ध्यामा गत शनिबार तीन दलको गठबन्धन बैठकले कांग्रेसलाई सभापति, महिला उपसभापति, कोषाध्यक्ष र उपमन्त्रीसहित चार पदाधिकारी र सात सदस्य दिने सहमति भएको थियो ।
त्यस्तै माओवादी केन्द्रलाई उपसभापति, मन्त्री र दुई सदस्य र नेकपा एमालेलाई उपकोषाध्यक्ष र १ सदस्य दिने गरी भागबण्डा भएको थियो ।
तर असन्तुष्ट समूहले स्वतन्त्र उम्मेद्वारी दिएपछि चुनाव भएको थियो । चुनाव भए पनि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेले पद भागबण्डा गरेर उम्मेदवारी दिएका थिए ।




