| बुधबार, कार्तिक २५, २०८३

गोरखामा माघ १६ गतेदेखि ‘समुदायमा कांग्रेस’ अभियान

गोरखामा माघ १६ गतेदेखि ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन हुने भएको छ । कांग्रेसको केन्द्रीय निर्णयानुसार गोरखामा १६ देखि २६ गतेसम्म ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्न लागिएको नेपाली कांग्रेस गोरखाका सह—सचिव लुमनाथ लामिछानेले बताए ।

‘हामीे यो अभियान सहिद दिवसको दिनबाट सुरु गरेर सुशील कोइराला स्मृति दिवससम्म सञ्चालन गर्छौ’ उनले भने । अभियानभरि प्रत्येक नागरिकको घर घरमा पुग्ने लक्ष्य लिएको उनले जानकारी दिए । ‘समुदायमा कांग्रेस’ अभियान सफल बनाउनका लागि प्रत्येक वडाको टोल टोलमा टोल समिति समेत गठन गरिएको उनले बताए ।

‘हाम्रो अभियान भनेको प्रत्येक नागरिकको घर घरमा पुग्ने हो’, उनले भने, ‘नागरिकहरुको घरमा पुगी उनीहरुको गुनासो सुन्ने र टिपोट गरी प्रदेश र केन्द्रमा पठाउँछौं ।’ सहसचिव लामिछानेका अनुसार प्रत्येक वडामा ३/४ जनाको टोली खटाइने छ ।
टोलीमा नेपाली कांग्रेसका महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्ला पदाधिकारी, क्षेत्रीय समिति, प्रदेश क्षेत्रीय समिति, पालिका सभापति तथा पदाधिकारी रहने छन् । साथै प्रशिक्षणका लागि ५९ जना प्रशिक्षकलाई पनि अभियानमा खटाइने उनले बताए ।

कांगे्रस गोरखाले गत पुस २० र २१ गते पार्टीका जिल्ला, क्षेत्रीय र प्रदेश क्षेत्रीय कार्यसमितिका ६४ जनालाई प्रशिक्षक प्रशिक्षण तालिम दिएको थियो । उक्त तालिमबाट उत्पादित प्रशिक्षकहरुले वडा/वडा, गाउँ/गाउँमा गएर प्रशिक्षण दिने बताएको थियो । उत्पादित ६४ जना प्रशिक्षक मध्य ५९ जना भने अभियानमा सहभागी हुनेछन् । अभियानअन्तर्गत जिल्लाका ११ वटै स्थानीय तहका सवै वडामा खुला छलफल तथा बहस कार्यक्रम गरिने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्