
ऐतिहासिक मिरकोटगढीमा सिँढीबाटो निर्माण
ऐतिहासिक मिरकोटगढीमा पर्यटन विकास गर्ने उद्देश्यले सिँढीलगायतका पूर्वाधार निर्माण गरिएको छ । पालुङ्टार नगरपालिका वडा नं. १० (साविक मिरकोट गाविस)को मिरकोटगढीसम्म पुग्नेगरी रेलिङसहितको सिँढी तथा अन्य पर्यटकमैत्री पूर्वाधार निर्माण गरिएको हो ।
नगरपालिका कार्यालय र संघ सरकारको सहयोगबाट हालसालै सिँढी निर्माण गरिएको वडा अध्यक्ष ऋषिराम धौरालीले जानकारी दिए । ‘नगरपालिकाको २० लाख र वडा कार्यालयको २० लाखबाट तलदेखि यो माथिको कोटगढीसम्म रेलिङसहितको सिँढी लगायौं’, धौरालीले भने, ‘संघ सरकारको सशर्त अनुदान ३० लाख प्राप्त भयो । ७० लाखको लागतमा गतबर्ष मिरकोटगढीसम्मको सिँढी निर्माण भयो । अझै धेरै कुराहरु अपुग भएका छन् । क्रमशः हामी बनाउँदै जानेछौँ ।’ साथै मिरकोट कालिका भनेर चिनिने लकाङकालीको थानसम्मको बाटोमा पनि सिँढी लगाउने प्रस्ताव मन्त्रालयहरुमा पेश गरिसकिएको उनले बताए ।
साथै कोटगढीमा उद्यान(पार्क) पनि निर्माण गरिएको छ । पिङ, बिश्रामस्थल, ट्रीहाउस पनि निर्माण गरिएको अर्का स्थानीय नवराज भुसालले जानकारी दिए । ‘यस ठाउँमा कसरी पर्यटन पूर्वाधार बनाउने, कसरी पर्यटन विकास गर्ने भन्नेबारे स्थानीय युवायुवती, वृद्धवृद्धाहरु एकजुट भएर लागि परेका छौँ, त्यसैले बेलाबेला यहाँ धार्मिक, सांस्कृतिक मेला आयोजना पनि हुने गर्छ । यसबर्ष पनि आउँदो बिहिबारबाट सातदिने धार्मिक महोत्सव आयोजना हुदैन’, उनले भने, ‘यो कोटगढीबाट जिल्लाका प्राय सबै पालिकाहरुको अवलोकन गर्न सकिन्छ । यहाँ अवलोकन गर्न लायक पर्यटकीय केन्द्रहरु लस्करै छन् ।’
थुम्कैपिच्छे लकाङकालीका देवीको मन्दिर, ४६५ बर्ष पहिले निर्माण भएको विश्वेश्वर महादेव मन्दिर, मिरवंशी राजाको दरबार, टुँडिखेल, गुम्बाहरु रहेको उनले बताए । ‘यी प्राचीन सम्पदाको संरक्षण र विकास गर्नु हामी युवाहरुको दायित्व हो, त्यसैले हामीले बेलाबेला यहाँ मेला, महोत्सव त गरिरहेका छौँ’, उनले भने, ‘विश्वेश्वर महादेवको मन्दिर पुरातत्व विभागले निर्माण गरेको छ, तर अरु संरचनामा चासो दिएको छैन ।’ यसको संरक्षण र विकासका लागि स्थानीय तहले पनि अपनत्व लिनु पर्नेमा उनले जोड दिए ।




