| मङ्लबार, कार्तिक २४, २०८३

बारपाक सुलिकोटको मनोमानी : सडक ट्रयाक खन्न विनाअनुमति वन क्षेत्रमा डोजर

बारपाक सुलिकोटको मनोमानीः सडक ट्रयाक खन्न विनाअनुमति वन क्षेत्रमा डोजर

बारपाक सुलिकोट गाउँपालिकामा सडक टूयाक खन्न विनाअनुमति वन क्षेत्रमा डोजर चलाएको पाइएको छ । वडा नम्वर १ को ओग्रापौवा खोलादेखि लिस्याङवुङसम्म नयाँ ट्रयाक खन्न इप्चेना तथा सुनानपाखा सामुदायिक वन क्षेत्रमा डोजर चलाएको पाइएको हो ।

विनाअनुमति वन क्षेत्रमा डोजर चलेको थाहा पाएपछि डिभिजन वन कार्यालयको टोलीले सोमवार सो क्षेत्रको स्थलगत निरीक्षण गरी काम रोक्न निर्देशन दिएको छ ।

‘३०—४० मिटर टूयाक खनिसकेको रहेछ, त्यो आवधिककै छेउछाउ देखिन्छ,’ बारपाक सव—डिभिजन वन कार्यालयका वन अधिकृत अर्जुन सिर्मलले भने, ‘अब वन क्षेत्रको जग्गा खन्न सुरु भएको रहेछ, हामीले रोक्न लगायौँ ।’ कानूनअनुसार मात्र काम गर्न भन्दै सम्बन्धित सामुदायिक वन उपभोक्ता समितिलाई पत्राचार समेत गरिएको उनले जानकारी दिए ।

यो बर्ष पालिकाले दश लाख रुपैयाँ विनियोजन गरेको उक्त योजनामा गत बर्ष पनि १५ लाख रकम विनियोजन भएको थियो । तर वन क्षेत्र परेकै कारण काम हुन सकेको थिएन । ‘गत बर्ष वन क्षेत्र वाहेकको करिव पाँचसय मिटर क्षेत्रमा काम भयो, त्यसपछि भएन,’ पालिकाका इन्जिनियर अभिनव गौतमले भने, ‘त्यही योजनामा अहिले फेरि रकम विनियोजन भएको हो ।’

नेपाल सरकारको निर्णय वा स्वीकृती विना वन क्षेत्रमा कुनै पनि योजना संचालन गर्न नपाइने डिभिजन वन कार्यालयका सूचना अधिकारी महेश पौडेलले बताए । तर पालिकाले विना अनुमति वन क्षेत्र मास्दै नयाँ ट्रयाक खोलिरहेको छ । तर कार्यालयलाई जानकारी समेत नआएको पौडेल बताउँछन् ।

वडाध्यक्ष धनबहादुर घलेले भने सम्बन्धित सामुदायिक वन उपभोक्ता समितिसँग अनुमति लिएको बताए । ‘उहाँहरुसँग सहमति गराएर हामीले निर्णय गरेर काम अघि बढाएका हौँ, त्यो क्षेत्र वनको परेपनि खासै रुखहरु छैनन्, कु—काठहरु मात्र पर्छन्,’ उनले भने ।

तर वन अधिकृत सिर्मलले सामुदायिक वन उपभोक्ता समितिको अनुमतिले वन क्षेत्रमा योजना संचालन गर्न नपाइने बताए । कृषि सडकको नाम दिइएको उक्त योजनाले वन क्षेत्रको करिव डेढ सय रुख मासिने अनुमान गरिएको छ । तर विना अनुमति वन क्षेत्र मास्दै टूयाक खोल्ने काम भएको हो ।

‘गत बर्षपनि हामीले हुदैन भनेर रोक्यौ तर अहिले नयाँ समिति गठन गरेर हामीसँग समन्वय नगरी काम अघि बढायो, अनुमति लिनुपर्छ भन्दा बिनाश विना बिकास हुदैँन भनेर जवरजस्ती गर्नुभयो,’ कार्यालयका एक कर्मचारीले भने । उक्त टूयाक खन्दा सो क्षेत्रमा रहेको ऐतिहासिक झरनामा समेत असर पर्ने उनको भनाइ छ ।

वनक्षेत्रमा सडक निर्माण गर्दा वन विनाश हुने भन्दै मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने चोरकाटे पालुङ्टार खण्ड वन क्षेत्रमा सडक स्तरोन्नतिको काम पाँच बर्षभन्दा धेरै ढिला भएको थियो ।

केही समयअघि मन्त्री परिषदबाट अनुमति लिएर मात्र सो वन क्षेत्रमा सडक स्तरोन्नतिको काम अघि बढाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्