
माघ ११ बाट मिरकोट कोटगढीमा धार्मिक महायज्ञ हुने
पालुङटार नगरपालिका–१० मिरकोटस्थित लाजिकोटमा धार्मिक महायज्ञ हुने भएको छ । मिरकोट कोटगढी धार्मिक महा–महोत्सव सन्ध्याकालिन महाआरती नाम दिइएको उक्त महायज्ञ यही माघ ११ गतेदेखि संचालन हुन लागेको हो । सोमवार पत्रकार सम्मेलन गर्दै महायज्ञ मूल समारोह समितिले माघ १८ गतेसम्म महायज्ञ संचालन हुने जानकारी गराएको छ ।
मिरकोटस्थित ऐतिहासिक विश्वेश्वर महादेव मन्दिरको संरक्षण तथा सम्वद्र्धन गर्ने उद्देश्यले महायज्ञ गर्न लागिएको समितिका संयोजक प्रेमबहादुर खत्रीले बताए । ‘पुराना ऐतिहासिक सम्पदाको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्ने र धर्मशाला निर्माण गर्ने उद्देश्य पनि हो,’ उनले भने । कोटगढीमा भ्यू टावर निर्माण गर्ने योजना समेत रहेको उनले जानकारी दिए ।
आठ दिनसम्म चल्ने महायज्ञमा रामानुजदास सन्तोषद्वारा कथा वाचन हुने बताइएको छ ।
महायज्ञको पहिलो दिन कलश यात्रा समेत हुने महायज्ञ मूल समारोह समितिले जनाएको छ । महायज्ञ अवधिभर कथा वाचनसँगै भजन कीर्तन, देवलीला झाँकी तथा चेतनामूलक नाटक, चौरासी पूजा, समेत हुने समिति संयोजक खत्रीले बताए । महायज्ञबाट करिव २५ लाख रकम उठ्ने अपेक्षा गरिएको उनले जानकारी दिए ।
महायज्ञले सो क्षेत्रमा रहेको ऐतिहासिक सम्पदाहरुको संरक्षण र सम्वद्र्धनसँगै पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने वडाध्यक्ष रिखिराम धौरालीले बताए । ‘महायज्ञ सफल बनाउन हामीले काठमाडौँ, चितवन लगायका ठाउँमा रहेको मिरकोट समाज र अन्य सरोकारवालाहरुसँग समन्वय गरिरहेका छौ,’ उनले भने ।




